सेयर बजार ४६ अंकले बढ्यो, डेढ अर्बको कारोबार

काठमाडौं १३ चैत

–  सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्चेन्जका अनुसार बजार ४७ अंकले बढेर एक हजार ५३३ बिन्दुमा पुगेको हो।  लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ। अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस ट्रेन्ड’मा अगाडि बढेको हो। ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत सोमबार ११ दशमलव ४८ बिन्दुले बढेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ।  बैंकिङ ३ दशमलव ५१ प्रतिशत, होटल ५ दशमलव २६, विकास बैंक ४ दशमलव ७, जलविद्युत् ८ दशमलव ५१, फाइनान्स ४ दशमलव ८३, बिमा ३ दशमलव ४५ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ।

उपत्यका बाहिरबाट थप सेवा 

यस्तै स्टकको निर्देशनअनुसार सोमबारदेखि उपत्यका बाहिर पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका छन्। नयाँ व्यवस्था भएसँगै नेपालगन्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन्।  उपत्यका बाहिर कालिका सेक्युरिटिज, क्रिष्टल कञ्चनजङ्घा, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सानी सेक्युरिटिजले कारोबार सुरु गरेका छन्।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेपालगन्ज, विराटनगर, बनेपा, बुटवल, बिर्तामोड र नारायणगढबाट सेयर कारोबार सुरु गरेका हुन्। नारायणगढ, बुटवल र विराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा विस्तार गरी कारोबार सुरु गरेका छन्।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया