सौराहामा नयाँवर्षका लागि आन्तरिक पर्यटकको घुइँचो

चितवन १६ पौस ।

नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन्। यहाँ आउनेमा अधिकांश आन्तरिक पर्यटक छन्।
सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन्। विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंजुले बताए।

४० कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० वटा कोठा बाहिरको होटलमा राख्नुपरेको सञ्चालक शम्भु माली बताउँछन्। उनले विगतको वर्षभन्दा यो पटक राम्रो पर्यटक आएको बताए।
निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले जनाएको छ। सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ।
निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जमा हात्ती र जिप सफारीमा पर्यटक गइरहेको बताए। चितवनको सौराहामा मात्र सानाठूला गरी ११० वटा होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन्।
दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ। ६० भन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छन।चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन्।
पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन्। चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया