सौराहा रेवानको अध्यक्षमा गोकर्ण गिरी निर्वाचित

साउन १५, चितवन ।

चितवनको रत्ननगरस्थित रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान), चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार साँझ रत्ननगरको सौराहामा भएको अधिवेशनबाट दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए ।

अधिवेशनले प्रथम उपाध्यक्षमा दीपेन्द्र खतिवडा, द्वितीय उपाध्यक्षमा अर्जुन चौधरी, महासचिवमा कृष्ण भट्ट, सचिवमा विनोद लोप्चन, कोषाध्यक्षमा शम्भु माली र सहकोषाध्यक्षमा गायत्री पाठकलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा राजेश तामाङ, इन्द्र चौधरी, वीरबहादुर तामाङ, गोपी बिँडारी, ईश्वरी परियार, सूर्य रिमाल र ध्रुव गिरी चयन भएको उपाध्यक्ष चौधरीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष गिरीले सौराहाको रेस्टुराँ व्यवसायको विकाससँगै सामाजिक कार्यमा रेवानलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । यहाँ झण्डै ६० ओटा रेस्टुराँ रहेका छन् । अधिवेशनले यही वर्ष हुने सौराहा खाना महोत्सवको संयोजकमा कपिल रेग्मीलाई चयन गरेको छ ।

रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट राजनले नाकाबन्दी, भूकम्प तथा मुग्लिन सडकका कारण पर्यटन आगमनमा असर परेकाले व्यवसायीलाई समस्या परेको बताएका थिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया