स्ट्राइकर जोल्टानले उछिने रोनाल्डोलाई

काठमाडौँ ३० असार ,

एजेन्सी-हंगेरीका स्ट्राइकर जोल्टान गेराले युरो च्याम्पियन पोर्चुगलका स्टार रोनाल्डोलाई पछि पारेका छन्।गेराले गरेको गोल युरोकप २०१६ को सबैभन्दा उत्कृष्ट गोल घोषित भएको छ। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो बेवसाइट मार्फत गरेको मत सर्वेक्षणको आधारमा गेराको गोल उत्कृष्ट भएको हो।

गेराले समूह चरणमा पोर्चुगलसँगको खेलमा १९ औं मिनेटमा गरेको गोल युरोकपको सर्वोत्कृष्ट गोलका रुपमा चुनिएको हो।यस्तै दोस्रो नम्बरमा रोनाल्डोले गरेको गोल परेको छ।

गोल अफ द टुर्नामेन्टको अवार्ड जितेका गेराले कुल खसेको मतको ३२ प्रतिशत पाएका थिए।एक लाख ५० हजार भन्दा बढीले सहभागी जनाएको मतदानमा गेराले ३२, रोनाल्डोको गोलले २४ प्रतिशत मत पाएको थियो।

वेल्ससँगको सेमिफाइनलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ५० औं मिनेटमा हेड मार्फत गरेको गोल दोस्रो नम्बरमा परेको हो ।यस्तै तेस्रो नम्बरमा स्वीट्जरल्याण्डका जार्डन शकिरीले अन्तिम १६ अन्तर्गत पोल्याण्डसँगको खेलमा गरेको गोल पर्‍यो। शकिरीको गरेको बाइसाइकल गोलले २३ प्रतिशत मत पायो।

यस्तै फ्रान्ससँगको फाइनलमा पोर्चुगलका एडरले गरेको निर्णायक गोलले १६ प्रतिशत मतसहित चौथो तथा क्वाटरफाइनलमा बेल्जियमसँगको खेलमा वेल्सका हाला रोब्सन कानुले गरेको गोल पाँच प्रतिशत मतसहित पाँचौं स्थानमा रह्यो।

आइतबार रातिको फाइनलपछि गोल अफ द टुर्नामेन्टका लागि पाँच गोल छनोट गरी मत दिन युइएफएले आग्रह गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया