स्पेनमा एक महिनामै एक करोड पर्यटक भित्रिए

स्पेन १९ भदौ २०८०।

स्पेनमा जुलाई महिनामा एक करोड एक लाख विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीपछि पर्यटन व्यवसाय फस्टाउँदै गएपछि जुलाई महिनामा एक करोड बढी विदेशी पर्यटक भित्रिएका हुन् ।

स्पेनिस तथ्यांक कार्यालयका अनुसार जुलाईमा एक करोड एक लाख विदेशी पर्यटकले स्पेन भ्रमण गरेका हुन् । यो तथ्यांक २०२२ को जुलाईको तुलनामा ११ दशमलव ४० प्रतिशतले बढी हो । २०१९ को तुलनामा दुई दशमलव छ प्रतिशतले बढी हो । पर्यटक खर्च पनि २०२२ को तुलनामा १६ दशमलव ४ प्रतिशत र चार वर्षअघिको तुलनामा १६ प्रतिशतले बढेको छ ।

यो वर्षको सात महिनामा ४७ दशमलव छ मिलियन विदेशी पर्यटकले स्पेन भ्रमण गरेको तथ्यांकले देखाएको छ । जुन २०२२ को तुलनामा करिब २१ प्रतिशतले बढी हो । तर, सन् २०१९ को तुलनामा शून्य दशमलव ८ प्रतिशतले कम हो । जनवरी र जुलाईबीचमा पर्यटक खर्च १४ दशमलव ७ प्रतिशतले बढेको छ ।

तथ्यांक कार्यालयका अनुसार नौ दशमलव आठ मिलियन बेलायती पर्यटकले स्पेन भ्रमण गरेका छन् । त्यसपछि फ्रान्सबाट स्पेन घुम्न जाने पर्यटक छ दशमलव चार मिलियन र जर्मनीबाट छ मिलियन छन् । यस्तै पोर्चुगलबाट स्पेन जाने १८ दशमलव ५० प्रतिशत र इटालीबाट १७ दशमलव ८ प्रतिशत पर्यटक बढेका छन् ।

स्पेनका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री हेक्टर गोमेजले पर्यटक आगमनमा आएको वृद्धिले स्पेनको पर्यटकीय क्षेत्रको गुणस्तर, आकर्षक र सम्भावना बढेको देखाएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया