स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक

काठमाण्डौ २० भदौ २०७८।

गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । उनको पहिलो हिन्दी गीत भारतको टि–सिरिजको ‘पप चार्टबस्टर्स’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गायनमा उनलाई गायक शबाब सबरीले स्वरमा साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीतमा गायक सबरीको संगीत तथा केआर वाहीको शब्द रचना रहेको छ ।

राजीव एस. रुयाले निर्देशन गरेका गीतको भिडियोमा गायिका स्मितासँगै भारतीय टेलिभिजन कलाकार अर्जुन बिज्लानीको अभिनय छ । भिडियोमा उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पणलाई देखाइएको छ । भिडियोलाई पुनम यादवले निर्माण गरेकी हुन् । उनी नेपाली हुन् । भिडियो भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशमा छायांकन गरिएको हो । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन हुन् ।

गीतको अडियो र भिडियो निकै राम्रो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । उनले अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा रहेको सुनाइन् । नेपालको राजनीतिमा समेत सक्रिय रहेकी यादवले भनिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनले चाँडै नै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा जुटेको बताइन् । यादवले मधेशी समुदायका महिलालाई ऊर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको जिकिर गरिन् । उनले भनिन्, ‘मधेशी समुदायका महिला अझैपछि परेका छन् । आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन सकेका छैनन् । अब उनीहरु पनि अगाडि आउनुपर्छ भनेर हौसला दिनका लागि पनि मैले गीत निर्माण गरेको हुँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया