स्रोत नै नखुलेको लगानी सेयर बजारमा नहोला ।

रामहरी अधिकारी,

ट्रेडिंग अफिसर,–लिन्च स्टक मार्केट, र्वोकर नं ४१
सेयर बजार बढेर कहाँ पुग्छ र घटेर कहाँ झर्छ भन्ने कुराको वास्तविक उत्तर कहिल्यै पनि कसैसँग हुदैन । बजार माग र आपूर्तिको नियन्त्रणमा हुने गर्छ । मुख्य कुरा माग र आपूर्ति बढाउने र घटाउने प्रमुख कारण के हो भनेर लगानीकर्ताले बुझ्ने गर्नुपर्छ । बजारको आधारभुत टुल्स हेरेर लगानीको निर्णय गर्नु नै लगानिकर्ताको हितमा हुन्छ । जबसम्म बैंकको ब्याजदर बढ्दैन र लगानीको अर्को भर पर्दो क्षेत्र तयार हुदैन त्यो बेलासम्म बजारले उचाई लिने आधार बलियो देखिएको छ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने एकातिर बैंकमा तरलता अत्यधिक छ । बैकहरुले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउदै आएका छन ्। अर्को तिर गत आर्थिक बर्षमा नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुले राम्रो कमाई गरेका छन् र लगानीकर्ताले फल पाउने सिजन पनि हो यो । यो सबैलाई आधार मान्ने हो भने बजारले उचाई लिने आधार बलियो देख्छु ।

अर्को कुरा जो कालोधनको कुरा छ यसलाई सुनियोजित नै त् भन्न मिल्दैन । सम्पती शुद्दिकरण बिभाग पहिले देखि नै खडा थियो । उसलाई जुनसुकै बेलापनि अनुसन्धान गर्न पाउने अधिकार छ । धितोपत्र बोर्डले अलि बढी अग्रसरता देखायो । यसै बिषयलाई फरक ढंगबाट व्याख्या गरियो र बजारमा अस्वाभाविक उतारचढाब देखियो । यहि कुरालाई मध्यनजर गरेर बोर्डले यो कुरा जसले हेर्न पर्ने हो उसैले हेर्नुपर्छ (जुन अहिले प्रक्रियामा छ) भनेर यो च्याप्टर बन्द गर्यो । मेरो विचारमा स्रोत नै नखुलेको लगानी सेयर बजारमा छ जस्तो लाग्दैन, हाम्रोमा त्यस्तो छैन । एकथरी समूहले भने यसलाई राम्रो अवसर ठानेर बढी नै चलखेल गरेको नै हो, जसले लगानीकर्तालाई खासमा नव प्रवेशीलाई एक किसिमको हतोत्साही नै बनायो । बजार बढेको बेला भएको सेयर बेचेर बाहिरिने एक लगानिकर्ताको समुहले सम्पति सुद्दिकरणको बिषयलाई यसरी उठायो जसले लगानीकर्तालाई ’आतंकित’ नै बनायो । उनीहरु बजारमा सेयर उठाउनका लागी अझै पनि उचित समयको पर्खाइमा छन् जस्तो मलाई लाग्छ । त्यसैले पनि लगानीकर्तालाई सुझ बुझको साथमा स्वबिवेक प्रयोग गरेर लगानीको निर्णय गर्न सल्लाह दिन्छु ।

यस्तो अवस्था समेत आयो कि बजार अघिल्लो दिन सर्किट लाग्ने गरि घट्यो र लगत्तै पछिल्लो दिन सर्किट लाग्ने गरी बढ्यो । यसले सेयरबजारमा रहेका धेरै लगानिकर्ता ’परिपक्व’नभएको हो कि भन्ने देखाउछ । सेयर बजारको बारेमा सामान्य ज्ञान समेत नभएका र नयाँ लगानिकर्तामा आत्तिने प्रवृत्ति देखियो । जसले बजार उतारचढाब गराउन राम्रैसंग मलजल गर्यो ।
धितोपत्र बजारको विस्तार र विकास होस वा यसको दायरा अझै फराकिलो होस् भन्ने मेरो व्यक्तिगत धारणा छ । सिमित क्षेत्रमा सिमित व्यक्तिका पहुँच भन्दा बाहिर पुगेर बजारमा धेरै भन्दा धेरैको पहुँच हुनुपर्छ भन्ने मेरो धारणा हो । धितोपत्र बोर्डले बिधि प्रक्रिया पुरा गरेर ’सिस्टम’ मिलाएर बजार बिस्तारका लागी लगानीकर्तालाई सुविधा हुने गरी काम अगाडी बढाउनु पर्छ भन्ने हो । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिदैमा सबै लगानीकर्तालाई सुविधा हुन्छ भन्ने कन्सेट मात्र पनि उचित हुदैन कि भन्ने लाग्छ ।

कार्यक्षमता बढाएर, क्षमता विस्तार गरेर, बाहिर शाखा खोल्ने देखि लिएर सबै किसिमको सुविधा दिने हो भने अहिले कायम ब्रोकरहरुले समेत धेरै लगानीकर्ताको पहुँचमा हुने गरी सुविधा दिन सक्छन भन्ने लाग्छ ।

अहिले बजारमा सबै उमेर समूहका लगनिकर्ता हुनुहुन्छ । तर सेयर बजारमा प्रवेश गर्दै गरेका र प्रवेश गरिसकेका सबै लगानिकर्ता बजार बुझेर आउनुभएको जस्तो देखिदैन । अहिले युवा पुस्ताको प्रवेश तिब्र रुपमा बढेको छ । यो समूहका लगानीकर्तामा सेयर बजार बारे अध्ययन र बुझाई राम्रो रहेको भेटिएको छ । तर सेयर बजारमा फलानोले कमायो, बजार बढ्यो रे कमाई राम्रै हुन्छ भनेर हल्लाका भरमा बजार भित्रिनेको संख्या पनि कम छैन । कति सम्म भए सेयर किन्ने भन्नु हुन्छ तर कुन कम्पनीको किन्ने हो, कति किन्ने हो, कहिले बेच्ने हो जस्ता सामान्य कुरा समेत जानकारी नभएका लगानिकर्ता समेत बजारमा हुनुहुन्छ ।

लगानी गर्न खोजेको कम्पनीको बारेमा बुझेर र कम्तीमा पनि कम्पनीको बारेमा अध्ययन गरेर लगानी गर्न लगानीकर्तालाई सुझाब दिन्छु । बजारमा साना साना कुराले पनि प्रभाब पार्दछ यस्ता चर्चा क्षणिक हुन्छन । कम्पनीको वित्तीय रिपोर्ट, आगामी योजना, योजनामा भएका परिवर्तनले शेयर मूल्यलाई असर पार्दछ र यस्ता कुरामा बढी सचेत भएर लगानी गर्नुपर्छ । तर बजारमा चल्ने अन्य बाहिरी चर्चा अस्थायी हुन्छन ।

प्रकाशित मिति २०७३-५-२३

फेसबुकबाट तपाईको प्रतिक्रिया