स्वतन्त्र र निष्पक्ष पत्रकारिता : आजको आवश्यकता


रिसब गौतम
सबैले लेख्न, बोल्न, अरुका अधिकार हनन नहुनेगरी मनमैजु खेल्न, रमाउन अर्थात मानवीय जिवनका यावत गतिविधिहरु निर्वाध गर्न पाइने व्यवस्था लोकतन्त्र हो । लोकतन्त्र आजको युगमा मानव जिवनको अभिन्न अगं समेत हो । लोकतन्त्रको उपयोग हरेक मानिसले गर्न पाउनुपर्छ । नेपालमा लोकतान्त्रिक व्यवस्थाको स्थापनाको खातिर धेरै खालका आन्दोलनहरु भए । चाहे त्यो राणाशासन अन्त्यको लागि ००७ सालमा भएको आन्दोलन होस्, ०१७ सालको आन्दोलन होस्, ०३६ सालको आन्दोलन होस्, ०४६ सालको जनआन्दोलन होस्, ०५२ सालबाट सुरु भएको माओवादी जनविद्रोह होस् अथवा ०६२–०६३ सालको दोश्रो जनआन्दोलन किन नहोस् ती सबै आन्दोलनहरु र त्यसक्रममा सहादत प्राप्त गरेका हजारौं वीर सहिदहरुको वलिदानीले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर बनेको नयाँ संविधान २०७२ ले प्रेस स्वतन्त्रता अर्थात निर्वाध रुपमा लोख्न, बोल्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । त्यसकारण लोकतन्त्र आमसञ्चारको लागि सबैभन्दा उन्नत ब्यवस्था हो । लोकतन्त्रमा नै पत्रकारिता क्षेत्र मौलाउने हो । नेपालमा पनि पछिल्लो २ दशक यता पत्रकारिता क्षेत्र निकै नै विस्तारित भएको पाइन्छ । भलै गुणस्तर र पत्रकारिताको मुल्य मान्यताका हिसावले धेरै प्रश्नहरु उब्जिएका छन् । पत्रकारिता क्षेत्र व्यवस्थीत हुन सकेको छैन । यसलाई एउटा गर्भलाग्दो क्षेत्रको रुपमा विकसित गर्न सकिएको छैन । तर पत्रकारिताले एउटा खालको फड्को भने मारेको देखिन्छ ।
पछिल्लो समय सुचना र सञ्चारमा भएको अभुतपुर्व भुमण्डलीकरण र उपयोगले पत्रकारिता आम मान्छेको समिप्यमा पुगिरहेको छ । यसले आफनो पहुँच विस्तार गरिरहेको छ । दायरा बढाइरहेको छ । लोकतन्त्रको उपयोग पत्रकारिता क्षेत्रले राम्रैसँग गर्न पाइरहेको छ । प्रविधिको प्रयोग आम मानिसमा बढेकोले पनि त्यो अवसर जुरेको छ । त्यसकारण लोकतन्त्र पत्रकारिता क्षेत्रको लागि अहम महत्वको विषय हो ।
पत्रकारिताका अनेक आयाम छन् । पत्रकारिता प्रष्फुटन गर्ने अनेक विधि, शिल्प, कोण, मुल्य मान्यता छन् । नेपाली पत्रकारिताको जगतमा अन्र्तराष्टिय रुपमा अभ्यास भएका तौरतरिका र मान्यता कति अबलम्बन भएका छन् वा छैनन् त्यो बेग्लै बहसको विषय बन्ला । तर नेपालमा पत्रकारिता क्षेत्रले पछिल्ला दशकहरुमा लोकतन्त्रको अधिक उपयोग गर्न पाएको छ । एकाध घट्नाहरु छन् जो समाचार लेखेकै वा टेलिभिजनमा बोलेकै भरमा पत्रकारहरु अनाहाकमा प्रहरी दमनमा परेका छन् । त्यसकारण राणाकाल, पञ्चायतकाल वा राज संस्थाकालिन समयहरु भन्दा धेरैभन्दा धेरैहदसम्म पत्रकारिता जगत स्वतन्त्र भएको छ । उन्नत र परिस्कृत पनि हुँदै गएको छ । पछिल्ला दिनहरुमा पत्रकार तथा पत्रकारिता जगतलाई देखि नसक्नेहरु भनेका भष्टचारी वा व्यविचारी मानिसहरु नै धेरै छन् । अरुले त पत्रकारिताले उज्जागर गरेका विषयवस्तुबाट लाभ नै लिएका छन् । राज्यका हरेक गतिविधिहरुको सुचना थाहा पाउने अधिकार जनताको हुन्छ । जनताको त्यो अधिकार पुरा गर्न पत्रकारिताले सहयोग गरिरहेको हुन्छ । गरिरहेकै छ । सरकारको, दलहरुको, संघ संगठनहरुको, व्यवसायीका सबैका सुचनाहरु आलोचनात्मक दृष्टिकोणबाट, सकारात्मक कोणबाट अथवा जे जसरी बजारमा आइरहेका छन् । जनताको चेतनाको उन्नत स्तरले मात्रै त्यसलाई सहजै पचाउन अथवा आवश्यक ठान्न सक्छ । तर नेपालमा एकांकी एवं संक्रिण सोचले जरो गाडेका कारण एकले अर्काको विचारलाई सहजै स्वीकार्न नसक्ने, विचारमाथी हमला गर्ने, होहल्ला गर्ने आदी गरिन्छ । तर स्वस्थ्य समाज निर्माणको लागि आलोचनात्मक चेत, प्रश्नहरु गर्न सक्ने, विषयहरु अनेक कोणबाट उठाउन सक्ने समाजको खाँचो छ । उन्नत चेतनाको जगबाट नै उन्नत समाज, सम्बृद्ध समाज निर्माण हुने हो । जनताको चेतना उन्नत हुन सकेन भने भौतिक विकासले मात्रै देशको विकास भएको मान्न सकिदैन । यसर्थ पत्रकारिताकै माध्यमबाट जनताको चेतना उठाउन सकिन्छ भन्ने मान्यतका सरकारसँग हुन जरुरी छ । त्यसको लागि पत्रकारिता क्षेत्रलाई बलियो बनाउन, गुणस्तरीय बनाउन, खोजमुलक बनाउन, सोधमुलक बनाउन, आत्मनिर्भर बनाउन र शैक्षित बर्गको आर्कषणको थलो बनाउन राज्यको आवश्यक लगानी र प्रयत्न जरुरी देखिन्छ ।
बढ्दो विकृति
पत्रकारितामा धेरै खालका विकृति मौलाएका छन् । तिनलाई हटाउन र पत्रकारितालाई समय सुहाउँदो, परिवेश सुहाँउदो, गुणस्तरीय एवं राष्टहीत अनुकुल बनाउन सरोकारवाला निकायले आवश्यक पहल गर्नु आवश्यक देखिन्छ । पत्रकारिता राज्यको चाथो अंग समेत हो । विश्वव्यापी मान्यता हेर्दा पत्रकारिता अरुको अधिनमा नभइ आफैमा स्वनियममा, आचार संहितामा, आत्म अनुशासनमा बाधिनुपर्ने बौद्धिक पेशा हो । यो एउटा खालको सामाजिक परिवर्तन र विकासको खातिर गरिने समाज सेवामुलक पेशा समेत हो । समाज र राष्ट्रको हितलाई यस पेशाले सबैभन्दा बढी आत्मसाथ गर्न जरुरी छ । लोकतन्त्रकै अधिक उपयोगका नाममा पत्रकारिता विकृत हुनुहुन्न । लोकतन्त्रले समाजको हीत, व्यक्तिको हीत, देशको हीतलाई जगे्रना गर्ने विशेषता बोकेको हुन्छ । त्यसकारण पत्रकारिताले पनि लोकतन्त्रको उन्नत मान्यतालाई सर्वोपरी ठानेर अघि बढ्न सक्नुपर्छ । तर अहिले त पत्रकारितमा अनेक विकृति छाएका छन् । पार्टी पत्रकारिता मौलाएको छ । त्यसले देशको, आम जनताको नभइ विभिन्न मान्यताको जगमा अघि बढे्का, देशी विदेशी दृष्टिकोणमा अघि बढेका अमुक पार्टीहरुको हकहीतलाई प्रर्बद्धन गर्दछ । त्यसकारण पत्रकारितामा राजनीतिको रंग दिइनु हुदैन । यसलाई स्वतन्त्र, निक्ष्पक्ष हुन दिइनु पर्दछ ।
वास्तम्तमा लोकतन्त्रको रक्षा गर्ने र त्यसको मुल्य मान्यता व्यक्ति–व्यक्तिमा एवं संस्था–संस्थामा स्थापित गर्ने सबैभन्दा दरिलो माध्यम पत्रकारिता नै हो । पत्रकार वा मिडिया हाउस स्वतन्त्र, निच्पक्ष एवं न्यायिक भए भने लोकतन्त्रको घर बलियो हुने हो । जसले गर्दा मान्छेका जिवनशैली सहज हुन्छन् । जनताले न्याय, शुख पाउँछन् । त्यसकारण पत्रकारिता कुनैपनि खालको रंग नमिसिएको, इन्ट्रेस्ट नभएको निष्पक्ष पेशाको रुपमा विकसित हुन जरुरी छ । पत्रकारहरु पार्टीको सदस्यता लिने, अनेक व्यवसायिक संस्थामा आवद्ध हुनु पत्रकारिताको धर्म विपरित हो । पत्रकारिताको धर्म निर्वाह गर्न नसक्नेलाई पत्रकार हुन दिइनु हुदैन । त्यसतर्फ सरोकारवाला संगठन, सरकार आदिले आवश्यक पहल गर्न जरुरी छ ।
यस अघिको केपि ओली सरकारले मिडिया विद्ययक ल्याएर मिडिया हाउस अथवा प्रेस जगतको लोकतन्त्र निमोठ्न खोजेको थियो । विधयकमा कसैप्रति गालीगौलज, मानहानी वा लक्षित गरि समाचार लेखे, फेसवुक, टुइटर जस्ता समाजिक सञ्जालमा पोष्ट गरे, त्यस्ता समाचारहरु शेयर गरे, युटुबमा त्यसरी बोले ५ बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना दुबै हुनसक्ने व्यवस्था गर्न खोजेको थियो । भलै आम वुद्धिजिवी र प्रेस जगत, विपक्षी दलहरुको विरोधका बावजुत त्यो विद्ययक सरकारले ल्याउन सकेन ।
यदी त्यस्तो खालको कडा कानुनी व्यवस्था हुने थियो भने पत्रकारले सरकारको आलोचना, गलत गर्ने नेता वा मन्त्रीको आलोचना कसरी गर्न सक्थ्यो र ? त्यसले लोकतन्त्रको नै गला निमोठ्थ्यो । पत्रकारले गलत गरे त्यसलाई हेर्ने, वा कार्वाही गर्ने निकाय प्रेस काउन्सिल, पत्रकारहरुकै महासंघ छदै थिए ।त्यसकारण पत्रकारिताको विकृतिहरु क्रमश सफा गर्दै जानु पर्छ । तर विकृति सफा गर्ने नाममा लोकतन्त्रको नारी निमोठ्ने गरी यसलाई नियन्त्रण गर्ने प्रयास भने गरिनु हुदैन ।

प्रकासित मिति २०७८–९–११

फेसबुकबाट तपाईको प्रतिक्रिया