स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी: कुन संगठनले कहाँ जिते ?

काठमाडौं, चैत ६, २०८१ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हिजो सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्रता लिइरहेको छ ।
अहिलेसम्मको मत परिणाम अनुसार नेविसंघले ९९ कलेजको स्ववियु अध्यक्ष जितेको छ । कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै निर्वाचित भएको छ ।
नेविसंघलाई पच्छ्याउँदै अनेरास्ववियु दोस्रो नम्बरमा अघि बढिरहेको छ । अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ ।
त्यसैगरी हालसम्म अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको जानकारी प्राप्त भएको छ ।
हालसम्म नेपाल कमर्स क्याम्पस (मीनभवन) र महेन्द्ररत्न क्याम्पस (ताहाचल)मा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । नेपाल कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्न क्यामपसमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएको जानकारी प्राप्त हुन आएको छ ।
थापाथली इन्जिनियरिङ र महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा अखिल (क्रान्तिकारी) ले आफ्नो जित सुनिश्चित गरेको । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमी क्याम्पसमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भइसकेको जानकारी छ ।
यस्तै पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । चैत ५ गते देशभरका ३८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यस्तै करिब ३०० को हाराहारीमा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो ।
कतिपय क्याम्पसमा आन्तरिक किचलोका कारण मतदान तथा मतगणना ढिला सुरु भएका कारण परिणाम आउन बाँकी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया