स्वास्थ्यमन्त्रीको खुलासा : काठमाडौंका सडक अझै १० वर्ष खन्ने र पुर्ने मात्रै
काठमाडौँ २ फागुन
काठमाडौं उपत्यकामा सडक भत्काउने क्रम अझै १० वर्षसम्म जारी रहने तथ्य सार्वजनिक भएको छ। विगत ५ वर्षदेखि खन्न सुरु गरिएको उपत्यकाको सडक खन्ने–पुर्नेमा मात्रै सीमित भइरहेको समयमा सरकारले उपत्यकाको ढल पुरानो र सानो भएको भन्दै पुनः खन्ने सम्झौता गरेको छ। ‘मेलम्चीको पानीको पाइप बिछ्याउने काम नसकिँदै केही महिनापछि ढलका लागि सडक खन्ने काम सुरु हुँदैछ’, स्वास्थ्यमन्त्री गगनकुमार थापाले भने, ‘उपत्यकामा धुलोका कारण बिरामीको संख्या बढ्ने क्रममा छ।’ ढलको पाइप फेर्ने र नयाँ ढलका लागि खन्ने कामका लागि सरकारले अघिल्लो सातामात्रै सम्झौता गरेको छ। मेलम्चीको पाइप बिछ्याएको स्थानमा कालोपत्रे गर्न सम्झौता गरिसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। आयोजनाका अनुसार केही दिनबाटै कालोपत्रे सुरु हुन्छ। पछिल्लो समयमा ढल विस्तारका लागि भएको सम्झौताअनुसारको काम पनि केही महिनापछि सुरु हनेछ। सरकारी संयन्त्रबीच समन्वय नहुँदा विकास निर्माण पनि प्रभावित बनेको छ भने जनस्वास्थ्यमा गम्भीर असर परेको छ। मेलम्चीकाले कालोपत्रे गरेको ठाउँमा नै पुनः ढलका लागि खन्ने काम सुरु भई अबको १० वर्षसम्म उपत्यकामा खन्ने र पुर्ने काम मात्रै हुने स्वास्थ्यमन्त्री थापाले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया