हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्ड

एजेन्सी ३ कार्तिक

हत्याको अभियोगमा साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ। तीन वर्ष पहिले साउदीको राजधानी रियादमा आपसी विवादका क्रममा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप लागेका राजकुमार तुर्की बिन साउद अल कबिरलाई मृत्युदण्ड दिइएको साउदी गृह मन्त्रालयले जनाएको छ।  राजकुमारलाई हत्याको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरिएको र अदातलले उनलाई मृत्युदण्डको फैसला सुनाएको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अदालतको उक्त फैसलाविरुद्व उच्च अदालतमा अपिल गरिएको थियो, तर उच्च अदालतले पनि उनको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनलाई मंगलबार मृत्युदण्ड दिइएको हो। मृत्युदण्डबारे थप जानकारी सार्वजनिक नभएको बिबिसीले जनाएको छ । मृतक अदेल अल मोहेमीदको परिवारले शाही परिवारबाट ब्लड मनि अस्वीकार गरेपछि राजकुमारलाई मृत्युदण्ड दिइएको हो। राजकुमार कबिर साउदीमा यो वर्ष मृत्युदण्डको सजाय पाउने १ सय ३४ औं व्यक्ति भएको समाचारसंस्था एएफपीले जनाएको छ।  साउदी गृहमन्त्रालयले राजकुमारको मृत्युदण्डबारे जानकारी सार्वजनिक गर्दै सरकार हरेक व्यक्तिको सुरक्षा र पीडितलाई न्याय दिलाउने कुरामा प्रतिबद्ध रहेकोमा आश्वस्त पारेको छ। साउदी अरबमा शाही परिवारलाई मृत्युदण्ड दिईने घटना अत्यन्तै दुर्लभ हुने समाचारमा उल्लेख गरिएको छ। यसअघि सन् १९७५ मा राजकुमार फैजल बिन मुसेद अल साउदलाई आफ्ना काका राजा फैजलको हत्या गरेको आरोपमा दिइएको मृत्युदण्ड पनि चर्चामा आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया