हरित आर्थिक विकासको सम्भावना

रिसव गौतम

आजको दुनियाँ आधुनिक विकासले मात्रै पनि निपूर्ण रहन सकेको छैन । कृत्रिम विकासको नयाँ–नयाँ संस्करणहरुको पदार्पण हुँदाहुँदै चाहेर वा नचाहेरै विश्वका देशहरुले यतिखेर वातावरणको पक्षमा कार्यहरु गर्न थालेका छन् । विश्वमा हालैका वर्षहरुमा तापमानमा हुँदै गएको तीव्र बृद्धिले, पानीका मुहानहरु सुक्दै जानाले, हिमालहरु पग्लने क्रम बढ्नाले, मौसम अनुकूल पानी नपर्नाले जलवायू प्रदुषणको ठूलो त्रास मानिसहरुमा फैलन थालेको छ । जलवायू प्रदुषणको यी क्रमसँगै विश्वका देशहरुका ध्यान वातावरणमैत्री विकासमा पर्न थालेको देखिन्छ । विशेषगरी ठूला औद्योगिक र विकसित राष्ट्रहरु (जापान, अमेरिका, बेलायत लगायत) ले पछिल्लो केही दशकयता वातावरण संरक्षणको क्षेत्रमा खुव ध्यान खिच्न थालेका देखिन्छन् । हुन त वातावरण चरम विनाश हुनेगरी औद्योगिकीकरण अगाडि बढाएबाट विकासको चरमचुलीमा पुगेका मुलुकहरुले उठाएका वातावरणका मुद्दाहरुमा विकासशील तथा अल्पविकसित मुलुकहरुले शंकाको दृष्टिले हेर्ने ठाउँ रहेकै छ । तर पनि वातावरण नै विश्वको सबैभन्दा अमूल्य धन भएकोमा शंका गर्न मिल्ने ठाँउ छैन । अर्को तथ्य के पनि हो भने वातावरण सन्तुलन कायम गर्ने गरी आर्थिक विकासलाई अगाडि बढाएका राष्ट्रहरु नै आजका उत्कृष्ठ विकसित राष्ट्रहरु हुने भएका छन् । भविष्य पनि त्यस्तै राष्ट्रहरुको राम्रो देखिन्छ ।risab
२ बर्ष अघि ब्राजिलमा सम्पन्न पर्यावरण परिवर्तन सम्बन्धी रियो+२० को महासम्मेलनमा नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहभागिता जनाएका थिए । र, उनैले सन् २००८ मा कोपनहेगनमा सम्पन्न पर्यावरण संरक्षण सम्बन्धी सम्मेलनमा विकास विरोधी मुद्दाका रुपमा पर्यावरण संरक्षणको मुद्दा रहेको मत समेत प्रकट गरेका थिए । डा. भट्टराईले भने जस्तो पुँजीवादी मुलुकहरुले अल्पविकसित तथा विकासशील राष्ट्रहरुको विकास विथोल्ने गरी यस्ता मुद्दा आएकै भएपनि वातावरणसँग विकासको तुलना गर्न मिल्ने अवस्था छैन । वातावरण नै नरहे कृत्रिम विकासले मात्रै मानव र जीवजन्तुहरुको अस्तित्व रहनेवाला देखिदैन । बरु यस्ता सम्मेलनहरुमा वातावरणको नाश गरेर औद्योगिकरण र आर्थिक विकासको छलाङ्ग मारेकाहरुसँग त्यसको क्षतिपूर्तिका विषयहरु उठाउनुपर्ने आवश्यकता देखिन्छ । पर्यावरण संरक्षण गरेर विश्वमा प्राणवायू सम्प्रेषण गर्ने मुलुकहरुलाई निरन्तर त्यस बापत आर्थिक लाभको हस्तान्तरण गरिनु आजको आवश्यकता हो ।
विकासको दृष्टिकोणलाई वातावरणसँग जसरी अलग्याएर हेर्ने गरिएको छ, वास्तवमा त्यो लाभदायक र उपयुक्त होइन । उदाहरणको रुपमा पर्यटन गतिविधिहरुलाई लिन सकिन्छ । जस्तो नेपाल लगायतका प्राकृतिक पर्यावरणीय सुन्दरता भएका देशहरुमा विकसित मुलुकहरुबाट घुम्न आउने पर्यटकहरुको क्रम बढ्दो छ । कतिपय पर्यटकहरु त यस्ता पनि हुने गर्छन जो एकपटक आइसकेपछि फेरी पनि निरन्तर आइनै रहेका हुन्छन् । यसबाट के स्पष्ट हुन्छ भने जति नै कृतिम आर्थिक विकास भएपनि मानिसहरुको रोजाई र आनन्द सुन्दर प्रकृतिले नै दिनसक्छ । अझ मानिस लगायतका प्राणी जगतको संरक्षणकर्ता भनेकै प्रकृति हो । पर्यावरण हो । पछिल्लो दशकमा विश्वभर नै पर्यटकहरुको संख्या बढ्नु र तिनको गन्तव्यस्थलहरु पनि वातावरणीय हिसावले सवल मुलुकहरुमा पर्नुले अबको विश्वमा कृत्रिम विकास भन्दा पनि वातावरणले नै मान्छेको ध्यान खिच्ने देखिन्छ । यस्तो सन्दर्भमा नेपाल जस्तो देशले वातावरणलाई पनि सन्तुलन कायम गर्नेगरी हरित आर्थिक विकासलाई जोड दिने हो भने संसारका देशहरु माझ विकासका दृष्टिले पछाडि परियो भन्ने ठाउँ रहने अवस्था आउने छैन । अबको विश्व वातावरण निर्माण र संरक्षणको क्षेत्रमा लागिरहँदा अवश्य पनि नेपाल जस्ता देशहरु वातावरण सन्तुलन रहनेगरी हरित आर्थिक विकासको गतिविधिमा सामेल हुनुपर्छ । विश्वका कतिपय देशहरु भोकमरी, अधिक तापक्रम, पानी संकट, स्वच्छ हावा संकट लगायतको पीडाबोधले छटपटिइ रहँदा नेपाल जस्ता उदाहरणीय प्रकृति रहेको देश सन्तुलित हुनैपर्छ । हरित अर्थतन्त्रको विकासले नै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्दछ ।
हरित अर्थतन्त्र भनेको वातावरणमैत्री अर्थतन्त्र हो । वातावरणको हानी नोक्सानी नहुनेगरी औद्योगिकीकरण वा विकास गरिनुलाई नै हरित अर्थतन्त्र भन्ने गरिन्छ । अग्रिम विकास भएका विकसित राष्ट्रहरुले नै यी मुद्दा उठाएका भएपनि यसले निश्चित रुपमा नेपाल जस्ता राष्ट्रहरुको हित नै गर्दछ । हरित अर्थतन्त्र वा वातावरण वेगरको विकासको विपक्षमा नेपाल जस्तो मुलुक उभिनु हुँदै हुँदैन । विकसित देशहरुले पछि आएर बुझेका अथवा भनौं ‘रियलाइज’ गरेका यस्ता विषय उपर नेपालले पाइला चाल्न पाउनु साँच्चै भन्ने हो भने सौभाग्य नै हो । प्रकृतिको विनासले विश्वमा विभिन्न खाले संकट, महासंकट देखापर्दै गएको, प्राणीमैत्री वातावरण विनाश हुँदै गएको, प्रकृतिका कतिपय जीवजन्तुहरुको अस्तित्व नै सखाप भइसकेको अवस्थामा बढी कृतिम विकास भन्दा पनि वातावरणलाई नै ध्यान दिनु आवश्यक छ ।

साँच्चै भन्ने हो भने अहिलेको मानव जगत कृत्रिम खालको विकासबाट अघाउँदै गएको छ । हरियो वातावरण र प्रकृतिको साथ खोज्दै मानव समुदाय कृत्रिम विकासको पर्खाल तोड्दै बाहिर निस्कन थालेको छ । यसरी हरित आर्थिक विकास र वातावरण संरक्षण सर्वाधिक चासो र आवश्यकताको विषय बनिरहँदा नेपाल जस्ता प्राकृतिक देशहरुलाई निकै फाइदा हुने देखिन्छ । किनकी विश्वले कत्रिम विकास गर्ने कुरामा जति नै प्रगती गरेपनि स्वच्छ हावा, पानी र हरियो वातावरण बनाउने कुरा कसैको पहुँचमा छैन । यी कुराहरु भनेको कुनै पनि राष्टको बलियो साधना, वातावरण प्रतिको माया र वातावरण संरक्षमा निरन्तर लगावका कारण हुने हो । नेपालमा अहिलेसम्मको अवस्था मुल्याङकन गर्दा प्राकृतिक दृष्टिले निकै धनी रहेको छ ।
यो प्रकृतिको यसैगरी जर्गेना मात्र गर्न सके, अग्रानिक कृषि उत्पादन गर्न सके, जडिवुटी उत्पादन सके, पर्यटकीय उद्यमको विकास गर्न सके र भएका खोलानालाको सही सदुपयोग गर्दै विजुली उत्पादन गर्न सके सानो देश नेपाल विश्वमै धनी हुने प्रबल सम्भावना छ । धार्मिक हिसावले अत्यन्त पुज्यनीय देश नेपालका हिमालय पर्वत फेदीहरु, हिमालहरु र हराभरा तराइ क्षेत्रको सन्तुलीत उपयोग र संरक्षण सहितको हरित आर्थिक विकास नेपालको आवश्यकता हो । त्यसकारण नेपालले हरित आर्थिक विकासलाई टेवा पुग्ने गरी अवका दिनहरुमा सरकारी नीति निर्माण देखि विकासका गतिविधिहरु परिचालन गर्न सक्नु पर्दछ । त्यसो गर्न सक्दा संसारले नेपाल माथी नजर लगाउने छ । किनकी नेपाल भौगोलिक हिसावले अत्यन्त सानो छ । जनसङख्याको हिसावले पनि सानै छ । यहाँको जनङख्यालाई जतिपनि पुग्ने जल, जमिन, जङगल, हिमाल, जडिवुटी लगायत साधनस्रोत यहाँ छ । त्यसो भएकोले पनि नेपालमा हरित आर्थिक विकासको सम्भावना अत्यन्तै ज्यादा छ । हरित आर्थिक विकासबाट नपालले संसारमा आफुलाई नमुना राष्ट्रमा दर्ज गराउन सक्छ । निश्चित रुपमा अवको दिनहरुमा विश्वको ध्यान र विकास वातावरणमैत्री नै हुनेछ । त्यसमा शंका गर्नुपर्ने अवस्था देखिँदैन ।

प्रकाशित मिति २०७३-१०-१७

फेसबुकबाट तपाईको प्रतिक्रिया