हलो गोरु पूजा

गौशाला, २७ माघ

श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लाका किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा जिल्लाका किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात भएको मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएकाले महोत्तरीका हजारौँ किसानले हलो गोरु पूजा गरेका छन् । किसानले आ–आफ्ना आँगनमा हलो राखेर पूजाआजा गर्नुका साथै घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गर्दछन् । किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोतेका छन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुका रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने गर्छन् । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन् प्रयोगमा ल्याउने गर्छन् ।
श्रीपञ्चमीको अवसरमा अरवा चामलमा सख्खर मिलाएर एक किसिमको प्रसाद तयार पार्छन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्ने प्रचलन छ । आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्ने गरिन्छ भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ हुन्छ । हलो गोरु पूजाको अवसरमा गाउँमा सयौँ गोरु एकैसाथ कुँदिरहेको तथा किसानको काँधमा हलो लहरै रुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद हुन्छ । हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाका १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहका सयौँ गाउँमा धुमधामका साथ मनाइएको छ ।
पानी परेपछि किसान हर्षित 
महोत्तरी जिल्लामा तीन दिनसम्म पानी परेपछि किसान हर्षित भएका छन् । लामो समयदेखि पानी नपरेका कारण जिल्लामा दलहन, तेलहन र गहुँ तथा मकै बाली नसप्रिने अवस्था आइसकेका बेला विगत तीन दिनसम्म जिल्लामा निकै धेरै पानी परेपछि किसान हर्षित भएका छन् ।
तीन दिनसम्म परेको पानीले जिल्लाको हजारौँ बिघा जग्गामा लगाइएको दलहन, तेलहन, गहुँ र मकै बालीलाई निकै फाइदा पुगेको तथा यसपालि यी बाली राम्रो उत्पादन हुने किसान बताउँछन् । महोत्तरीमा वर्षेनी दलहन बालीमा मसुरो, रहर, चना र तेलहन बालीमा आलस, तोरी, सस्र्यौं खेती हुने गरेको छ भने गहुँ र मकै पनि पर्याप्त मात्रामा हुने गर्छ । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया