हल सिटीलाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा
एजेन्सी २ अशोज, लण्डन ।
इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटीलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । हिजो शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित हल सिटीलाई ४–१ ले पराजित गर्दै आर्सनल लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
हल सिटिको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एलेक्स सान्चेजले दुई तथा थियो वालकोट र ग्रानिट जाकाले समान एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सान्चेजको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ४० औं मिनेटमा जेक लिवरमोर रोतो कार्ड पाएर मैदानबाट बाहिरिएपछि हल सिटी पहिलो हाफमै १० खेलाडीमा सीमित भयो ।
पहिलो हाफमा १ – ० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप ३ गोल गर्यो । खेलको ५५ औं मिनेटमा वालकोटले आर्सनलको अग्रता दोब्बर पारे । हल सिटीका लागि ७९ औं मिनेटमा रोबर्ट स्नोडग्रासले पेनाल्टी मार्फत एक गोल फर्काए । त्यसपछि खेलको ८३ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो तथा इन्जुरी समयमा जाकाले गोल गरेपछि आर्सनल ४–१ ले विजयी भयो ।
जितपछि तेस्रो स्थानमा उक्लिएको आर्सनलको पाँच खेलबाट १० अंक भएको छ । पाँच खेलबाट सात अंक जोडेको हल सिटी दशौं स्थानमा छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटि छ भने दोस्रो स्थानमा एभर्टन रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया