हात्तीलाई जाँड रक्सीको लत लागेपछि !

काठमाडौं, १३ चैत ।

मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ । यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा । निकुञ्जबाट निस्केर हात्ती बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन्, अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन् ।

अाजको गोरखापत्रमा खबर छ– आठ महिनादेखि लगातार रुपमा मात्तिएका हात्तीको झुण्ड बस्तीमा पसेर धनजनको क्षति पु¥याउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । यस अवधिमा हात्तीले कुनै पनि दिन बस्ती छाडेको छैन ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले भने, “एउटा बस्तीबाट भगायो अर्को बस्तीमा छिर्छन्, अर्को बस्तीबाट धपायो फेरि पहिलेको बस्तीमा पस्छन् । जाँड रक्सीका भाँडा खोजेर घरभित्र पस्छन् । अनि मात्तिएर हानि नोक्सानी पु¥याउँ छन् । यस अवधिमा बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भइसकेको छ ।

निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएका हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ । उनले भने, “पहिले पहिले मानिसले आगोले तर्साउँदा, सिट्ठी बजाउँदा पनि हात्ती भाग्थे तर आजभोलि ट्याक्टरले तर्साउँदासमेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ । अब त डोजरले धपाउँदासमेत नमान्ने भइसक्यो । ”

मध्यवर्ती क्षेत्रका अध्यक्ष आचार्यले गाउँघरमा भएका ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि पछिल्लो पटक जाँड, रक्सी खाएर मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने बताए । उनले भने, “खाद्यान्न त सधैँ खाने गथ्र्यो हात्तीले । यस पटकबाट रक्सीको भाँडो खोजीखोजी खाने गरेको छ । मात्तिएको हात्तीको अगाडि कसको के लाग्यो ? भेटेको जति मान्छे मार्छ, कच्ची घर मात्र होइन अहिले पक्की घर पनि भत्काउन थालेको छ । ”

मध्यवर्ती क्षेत्रमा हात्तीले घरभित्र गएर जाँड रक्सी खाई उदण्ड मच्चाउन थालेपछि स्थानीय बासिन्दाले जाँड रक्सी बनाउन प्रतिबन्ध लगाउनु पर्ने मागसमेत राखेका छन् । मध्यवर्ती क्षेत्र कर्मलाका धनीराम चौधरीले भने, “अब घर घरमा जाँड रक्सी बनाउन पनि छोड्नुप¥यो । जाँड रक्सी खान पल्केका हात्ती बस्ती नछाड्ने भएपछि गाउँमा जाँड, रक्सी बनाउन बन्द गर्नुपर्छ । ”

मध्यवर्ती क्षेत्रका पाताभार, भोला, मनाउ, ठाकुरद्वारा, सूर्य पटुवाको पत्थरबोझी र डाँडागाउँ, शिवपुरको वनखेत, बालाती क्षेत्रको कर्मला र न्याउलापुर, रम्भापुर र बगनाहा क्षेत्रमा हात्तीले दिउँसै आतङ्क मच्चाउन थालेको छ । ती वस्तीमा स्थानीय बासिन्दा रातभर जाग्रम बस्नु पर्ने अवस्था रहेको निकुञ्जका प्रमुख थापाले जानकारी दिए ।

प्रमुख संरक्षण अधिकृत थापाले भने, “पहिला पहिला आगो र बन्दुकको आवाजले भाग्ने हात्ती आजभोलि भाग्न छोडेका छन् । मात्तिएको हात्तीलाई लठ्ठिने औषधिले डार्ट गरेर शिथिल बनाएपछि शारीरिक रुपमा कमजोर हुने तर पुनः तंग्रिएपछि भागेर जंगल पस्ने गरेका छन् । ”

फेसबुकबाट तपाईको प्रतिक्रिया