“हामी तराई जाँदैछौं, फोटो खिच्न ड्रोन क्यामराले पुग्दैन”

काठमाडौं २२ पौष
प्रतिपक्षी दलहरुले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोध कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालीले घुँडा टेक्न नजानेको भन्दै राष्ट्रिय हितको पक्षमा लिएको अडान नछाड्ने बताएका छन् । ‘हाम्रा पुर्खाले दु:ख अप्ठेरो झेल्न सिकाए लम्पसार पर्न सिकाएनन् । घुँडा टेक्न सिकाएनन्’ उनले भने ‘नेपाल फेरि लम्पसार पर्दैन। नेपाली जनताले लम्पसारवादलाई घृणा गर्छन्।’
ओलीले संसदमा राष्ट्रघाती प्रस्ताव छलफल हुन नदिने समेत बताए। उनलेले अब एमालेले तराई अभियान सुरु गर्ने बताएका छन्। एमालेलाई मधेस विरोधी देखाउन खोजिएको भन्दै उनले फागुन दोश्रो हप्तादेखि मेची महाकाली तराई अभियान सञ्चालन गर्ने घोषणा गरे। उनले मधेस केन्द्रित दललाई तराईको जनताको प्रतिनिधित्व नगर्ने र तराईका जनताको शोषण गर्ने तत्वको संज्ञा दिए। तराईको जनताको प्रतिनिधित्व नगर्ने र तराईको जनतालाई शोषण गर्ने तत्वहरु एमालेलाई तराईबाट लखेट्ने भन्नुहुन्छ’ ओलीले भने ‘उहाँहरुले ११ सिट जित्नुभएको छ एमालेले ४० सिट जितेको छ।’ एमालेलाई तराईका धेरै वासिन्दाले साथ दिने भन्दै उनले एमालेको तराईमा हुने अभियानको फोटो खिच्न सेटेलाइट नै चाहिने बताए। ‘ हामी तराई जाँदैछौं, फोटो खिच्न ड्रोन क्यामराले पनि पुग्दैन सेटेलाइटबाट फोटो खिच्नुपर्नेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया