होमस्टेको प्रवद्र्धनका लागि ९० लाख अनुदान

गोरखा १२, चैत

गोरखा जिल्लामा विभिन्न नौ होमस्टे (घरबास) को प्रवद्र्धनका लागि रु ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत जिल्लाको अजिरकोट गाउँपालिकामा चार, शहीद लखन गाउँपालिकामा दुई, बारपाक सुलीकोट गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा एक÷एक होमस्टेका लागि अनुदान प्राप्त भएको उहाँले जानकारी दिनुभयो । प्रमुख पौडलेका अनुसार प्रत्येक होमस्ेटले रु १०÷१० लाख अनुदान प्राप्त गर्नेछन् ।

“सामुदायिक होमस्टेमा भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्ने गरी प्रदेश सरकारले रकम उपलब्ध गराएको हो”, उहाँले भन्नुभयो, “उक्त अनुदान रकम दुई किस्ता गरेर उपलब्ध गराइने छ ।” अहिले अनुदान प्राप्त गरेका होमस्ेटसँग सम्झौताका लागि तयारी रहेको भन्दै उहाँले चालू आर्थिक वर्षभित्रमै कार्यक्रम सम्पन्न गर्ने गरी काम अघि बढेको बताउनुभयो ।

अनुदान प्राप्त गरेका होमस्टेले कूल प्रस्तावित बजेटको २० प्रतिशत रकम समुदायले खर्च गर्नुपर्नेछ भने १० प्रतिशत रकम स्थानीय तह वा वडा कार्यलयले खर्च गर्ने सुनिश्चित भएपछि ७० प्रतिशत रकम भने कार्यालय उपलब्ध गराउने उहाँले बताउनुभयो । सम्झौतालगत्तै पहिलो किस्तावापत रु चार लाख उपलब्ध गराउने र प्रस्तावित योजनाअनुसार काम सम्पन्न गरेपछि दोस्रो किस्तावापतको बाँकी रु छ लाख अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख भएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया