होमस्टेमा परिणत हुँदैछ द्रव्य शाहको पुरानो गाउँ
ऋषिराम अधिकारी
लमजुङ २२ भदौ
एेतिहासिक एवम् पर्यटकीय गाउँका रुपमा चिनिएको पूर्वी लमजुङको रागिनासकोटवासी अहिले होम स्टे सञ्चालनको तयारीमा जुटेका छन्। सरकारले भूकम्पपछिकाे पुनःनिर्माण अभियानलाई सुस्त बनाइरहेका बेला रागिनासकोटका स्थानीय गाउँमै सहयोग भित्र्याएर पुनःनिर्माणमा जुटेका हुन्। अमेरिकी नागरिक नातासाको नेतृत्वमा गाउँ पुनःनिर्माणको काम सुरु भएको छ। भूकम्पले भत्काएका आफ्ना घर पुनःनिर्माण भएपछि स्थानीयवासी निकै खुसी छन्। ६५ वर्षीया विकी गुरुङले पक्की घरमा बस्न पाउँदा निकै खुसी भएको बताइन्। ‘भूइँचालोले घर लगेपछि त्रिपालमूनी बस्दै अाएको थिएँ। धन्न्, मेरोे भाग्य अमेरिकाबाट अाएकी छोरीजस्तै मान्छेले घर बनाइदिइन्। मेरो मात्रै होइन, गाउँका सबै घर बनाउँदै छे । सबै घर एउटै देखिने गरी बनाउने अरे। हाम्रो आमा समूहको घर पनि बनाइदिने भनेकी छे’ विकी भन्छिन्। रागिनासकोटका खड्गबहादुर गुरुङ पनि अमेरिकी नागरिक नातासाप्रति निकै सम्मान प्रकट गर्छन् । उनी भन्छन् ‘हाम्रा नेता जनतालाई दुई लाख दिने विषयमा समेत जुँगाको लडाईँ गर्छन् । सरकारको भर परेको भए त हाम्रो अझै १० वर्ष घर बन्ने थिएन। एउटा सामान्य घर बनाउन झन्डै १५ लाख लाग्दो रहेछ, सरकारले दुई लाखमा घर बनाउछु भनेको छ, त्यो पनि दुई वर्ष हुन लागिसक्यो ।’ गुरुङ भन्छन्,’ सरकारले उपलब्ध गराएको रकममध्ये र१५ हजार भन्दा बढी आएकै छैन्। धन्न नातासा नानी आइछन् र हाम्रो भाग्य खुल्यो।’ गुरुङका अनुसार गाउँका अधिकांश व्यक्ति बसाइँ जाने तयारीमा थिए। तर,नातासाले सहयोग गरेपछि सबै गाउँमै रोकिएका छन् । कुल पाँचकोठामध्ये हरेक घरमा एक कोठा अनिवार्य रुपमा घरवास कार्यक्रम अर्थात होमस्टेका लागि राख्नुपर्नेछ। नातासाकाे शर्तअनुसार एक किचन, एक घरवास कार्यक्रमका लागि पाहुना कोठा र तीन कोठा घरायसी प्रयोजनमा प्रयोग गर्न पाइनेछ ।
प्रत्येक घरमा आधुनिक शौचालय निर्माण हुनेछ। प्रत्येक शौचालयमा दुई किसिमका प्यान राख्नुपर्नेछ। अनि शौचालय र स्नान कोठा बेग्लै हुनेछन्। शौचालय र स्नानकक्षमा अनिवार्य रुपमा टायल टाँसेको र सावर हुनुपर्ने सर्त छ। घरवास कार्यक्रमका लागि राखिएका कोठाबाट विभिन्न १९ वटा हिमशृृङ्खला देख्न पाइने छ। भूकम्पले भत्काएका रागिनासकोटका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट पुनःनिर्माण भइरहेको छ। रागिनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माणका लागि करिब एक करोड ५० लाख रकम नातासाले स्थानीयवासीलाई सहयोग गरेकी छन्। रागिनासकोटका १४ घरमध्ये हालसम्म पाँच घर निर्माण भइसकेका छन्। बाँकी घर निर्माणको अन्तिम चरणमा छन्। वातवरणमैत्री अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलो, फोहोरमैला र पानी व्यवस्थापनको कार्य भइरहेको छ। रागिनासकोटमा निर्माण हुन लागेका प्रत्येक घरमा सोलार प्यानल जडान गरिनेछन्।
पाँचवटा कोठा रहने भूकम्प प्रतिरोधी घरमा गाउँले तवरबाट पिंढी, फलैँंचा, आकासे पानीको व्यवस्थापनका लागि ट्याङकी जडान गरिने र सडक बत्ती जडान हुनेछ। रागिनासकोटमा रहेका केही पुराना घुमाउने घरलाई भने पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपमाा सुरक्षित राखिनेछ। गुरुङ जातीको बस्ती रहेको रागिनासकोटमा उनीहरुको कला, संस्कृति जोगाउन सङ्ग्राहलय समेत स्थापना गरिनेछ। बाइसे चौबिसे राज्य शासनमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको रागिनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घन्टाको पैदल यात्रा वा दुई घन्टाको सवारी यात्रा गर्नुपर्छ। यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रेलगायत १८ वटा हिमशृङखला सहजै देख्न सकिन्छ। शाहवंशीय राजा यशोबह्म शाहका कान्छा छोरा द्रब्य शाहले सुरक्षाको जिम्मा लिई बसेको रागिनासकोट गाउँको पुनःनिर्माणसंगै यहाँ पर्यटक आउनेहरुको संख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास स्थानीयको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया