होलीले लियो यादवको ज्यान

जनकपुरधाम, चैत ३, २०८१ । शनिबार तराईका जिल्लाहरुमा होली पर्व मनाइरहँदा जनकपुरमा भने एकजना युवाको ज्यान गएको छ । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा युवाहरुबीच विवाद हुँदा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाधामका अनुसार मृत्यु हुनेमा १९ वर्षीय आँशु यादव रहेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । सोही क्रममा धर्मेन्द्र महतोले एकाएक आँशु यादवलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहार पश्चात् गम्भीर घाइते भएका आँशुलाई तत्काल अस्पताल लगिएको थियो । तर यादवलाई गहिरो चोट लागेका कारण उपचारका क्रममा उनको मृत्यु हुन गयो ।

तराईका अधिकांश जिल्लामा शुक्रबार होली मनाइए तापनि शनिबार बिदाको दिन परेकाले जनकपुरधाममा शनिवार पनि होलीको रमाइलो गरिएको थियो । होली सकिसक्दा पनि गरिएको रमाइलोले नै यादवका ज्यान लियो । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया