१५ हजार आइएस लडाकु एसिया क्षेत्रको लागि भयङ्कर चुनौती

काठमाडौं ६ माघ
एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट आतंकवादी गतिविधिमा संलग्न हुन सक्ने उनीहरूको चिन्ता छ ।

काठमाडौंमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलनको १५ हजार लडाकुले निम्त्याउन सक्ने सुरक्षा जोखिमलाई छलफलको प्रमुख विषय बनाइएको छ । त्यस्ता १५ हजार विदेशी आइएस लडाकुबारे सूचना दिई पक्राउ गर्न एक–अर्का देशबीच सहकार्यलगायतका विषयमा सम्मेलनमा छलफल हुने खबर आजको नयाँ पत्रिकामा छ ।
भारतसँगको खुला सिमानाका कारण नेपाल पनि आतंकवादको जोखिममा रहेको सम्मेलनका सहभागी विभिन्न देशका सुरक्षा अधिकारीले बताएका छन् । आतंकवादीहरूले सेल्टरका रूपमा नेपाललाई प्रयोग गर्न सक्ने भन्दै अध्यागमन र सीमामा विशेष सतर्कता अपनाउन उनीहरूले सुझाब दिएका छन् ।

आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले पनि खुला सिमानाका कारण आतंकवादी गतिविधिमा संलग्नहरूले नेपालको भूमि दुरुपयोग गर्न सक्ने जोखिम रहेको बताए । नेपाललाई भन्दा नेपालमा रहेका अरू देशका नागरिक र दूतावासहरूलाई कुनै आतंकवादी समूहले आफ्नो ‘टार्गेड’ बनाउन सक्ने भएकाले यसमा विशेष सतर्कता अपनाउनुपर्ने विभिन्न देशका सुरक्षा अधिकारीको भनाइ छ । पछिल्लो समय दक्षिण एसियामा आतंकवादी समूह सक्रिय हु“दै गएकाले नेपालमा पनि जोखिम बढ्दै गएको उनीहरूको तर्क छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया