१६ लाख ऋण, ३ कारोड असुली

पोखरा २५ भदौ।

आठ वर्षअघि पोखरा जरेवरका जीवन भनिने रत्नबहादुर कार्कीले ७ लाख रुपैयाँ ऋण लिएका थिए । पोखरा नयाँगाउँका गौतम थापासँग सयकडा १० मा ऋण लिएर उनले ११ लाख रुपैयाँ बुझाए ।

गौतमसँगै उनले मिटर ब्याजमा पुनः १६ लाख रुपैयाँ ऋण लिए । यसपल्ट उनले ८ वर्षमा ३ करोड रुपैयाँ बुझाइसक्दा पनि ऋण चुक्ता भएन । मिटर व्याजीबाट ज्यान मार्नेसम्मको धम्की आएपछि उनले अन्ततः प्रहरीको शरण लिए।

ऋण असुल्न निर्माण व्यवसायी रत्नबहादरलाई अपहरण गरेको आरोपमा बुधबार प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गौतम थापा, प्रेमबहादुर थापा, रोहित सूनार र वासुदेव पोखरेललाई शान्तिवनको निर्माण व्यवसायी समितिको भवनबाट पक्राउ गरेको हो । पक्राउ पर्ने सबै निर्माण व्यवसायी समितिका सदस्य हुन् । रत्नबहादुरको मौखिक जानकारीका आधारमा प्रहरीले मिटर ब्याजीलाई अनुसन्धानको घेरामा राखेको थियो।

एक महिनाको निगरानीपछि उनीहरूलाई समात्न सफल भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । प्रहरीका अनुसार रत्नबहादुर बुधबार बिहान प्लास्टरको बालुवा हेर्न शान्तिवन पुगेका थिए ।

सामुदायिक प्रहरी सेवाको जिल्ला समन्वय कार्यालयकै अघिल्तिर ,गरच २७४९ नम्बरको कारमा वासुदेव र प्रेमले रत्नबहादुरलाई जबर्जस्ती हुले । गौतम र रोहितले ग१२प ९८५७ नम्बरको मोटरसाइकलमा स्कर्टिङ गरे। रत्नबहादुरले त्यही मेसोमा ‘स्पिड डायल’ बाट प्रहरीलाई फोन गर्न भ्याए। प्रहरी नायब उपरीक्षक राजकुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले निर्माण व्यवसायी समितिको भवनबाट रत्नबहादुरको उद्धार गयो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया