२०३० सम्म ५० लाख पर्यटक भित्र्याइने

काठमाडौँ, २९ माघ

मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्यटन क्षेत्रलाई राज्यको प्राथमिक कार्यसूची बनाइनुपर्नेमा सरोकारयुक्त निकायले जोड दिएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को पाँचौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार विकास र सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रको प्राथमिक कार्यसूचीको पहिलो नंमा पर्यटन क्षेत्रलाई राखेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आगामी गठबन्धन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्यटकीय पूर्वाधार र सेवा गुणस्तरतर्फ राज्यको ठूलो लगानी जरुरी छ भन्दै मुलुकमा ५० लाख पर्यटक भित्र्याउन पर्यटनमैत्री नीति बनाएर पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटनका हिसाबले नेपालभन्दा कमजोर कम्बोडियालगायत मुलुकले छोटो समयमै ५० लाखभन्दा बढी पर्यटक भित्र्याएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि सन् २०३० सम्म त्यति पर्यटक भित्र्याउन पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनलाई व्यापक बनाइनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत र बोर्डकै पूर्वसञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पर्यटनमा नीतिगत सुधार र पूर्वाधार विकासमा जोड दिइएमा त्यति पर्यटक पु¥याउन समस्या नहुने बताउनुभयो । नाटोजका नवनिर्वाचित अध्यक्ष शिव अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीमा मुलुकमा आधा करोड पर्यटन भित्र्याउने अभियानलाई संस्थाले सहकार्य गर्ने बताउनुभयो ।

नाटोजमा अधिकारी नै
‘गन्तव्य नेपाल गु्रप’का अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा प्रदेश नं १ का लागि ‘शिखरपोष्ट मिडिया’का प्रकाश खालिङ, प्रदेश नं २ का लागि ‘राष्ट्रिय समाचार समिति’(रासस) का विकास लोहनी, प्रदेश नं ३ का लागि ‘राजधानी’ दैनिकका मधुजंग पाण्डे, प्रदेश नं ४ का लागि ‘रेडियो जननी’का विमला भण्डारी, प्रदेश नं ५ का लागि ‘रेडियो नेपाल’का भूषण पोखरेल, प्रदेश नं ६ का लागि ‘न्यूज २४ टेलिभिजन’का संगम बानियाँ र प्रदेश नं ७ का लागि ‘दि राइजिङ नेपाल’का नारायण उपाध्याय निर्वाचित भई संयोजक तोकिनुभएको छ ।

त्यस्तै महासचिवमा ‘अर्थ र व्यापार’ साप्ताहिकका नवीन काफ्ले, उपमहासचिवमा ‘रासस’का सिबी अधिकारी, सचिवमा ‘शिखरन्यूज डटकम’का सुजन पन्त, कोषाध्यक्षमा ‘मेगा टेलिभिजन’का कल्पना महर्जन र सहकोषाध्यक्षमा ‘इआर्थिक डटकम’का तिर्सना गिरी निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा ‘चक्रपथ डटकम’का कविता अधिकारी, ‘सगरमाथा टेलिभिजन’का श्रीकृष्ण सुवेदी, ‘न्यूजसेवा डटकम’का विष्णु पोखरेल, ‘अर्थको अर्थ डटकम’का शंकर पण्डित, ‘नेपाल समाचारपत्र’ दैनिकका दीपेन्द्र थापा, ‘इमेज टेलिभिजन’का भरत केसी, फोटो पत्रकार जनार्दन अर्याल र ‘जनतापोष्ट डटकम’का किरण बुढाथोकी रहनुभएको छ ।

यसैबीच नाटोजले पर्यटन क्षेत्रमा योगदान पु¥याएवापत व्यवसायी सुमन पाण्डेलाई ‘पर्यटन धरोहर–२०७४’ बाट सम्मान गरिनाका साथै रेडियो नेपालका पत्रकार गोविन्द चिमोरियालाई रु १० हजारसहित नाटोज पर्यटन पत्रकारिता सम्मानबाट पुरस्कृत गरियो । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया