२१ बर्षको बेलायत बसाई छाडेर नेपाल फर्किएका युवा 

काठमाडौं, २९ माघ

विकसित देशको पिआर र नागरिकताको लागि युद्धरत लाखौंको नेपाली भीडबाट बेलायतमा २१ बर्ष समय ब्यतित गरेका र आफ्नै रेन्टुरेन्ट ब्यवसायमा स्थापित भएका लक्ष्मण गौतमले वेलायत र त्यहाँको सुख सुबिधा त्यागेर स-परिवार आफ्नै जन्मभूमि नेपाल फर्किने निर्णय गरे । सामान्यत: विकसित देशमा यसरी स्थापित जीवनलाई तिलान्जली दिएर स्वदेश फर्कने निर्णय दुई अवस्थामा हुने गर्छ । देश अत्यन्तै संकटग्रस्त अवस्थामा पर्दा वा अत्यन्तै राष्ट्रबादीहरुको निर्णय पहिलो र दोश्रो, देशमा नै केही गर्न सकिने वातावरणको बलियो संभावना । उपर्युक्त दुबै अवस्था नभएर नेपालको बर्तमान अबस्था भनेको एउटा अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण हुने संक्रमण कालको समय हो । प्रसब पिडाको बेला हो । दिनहुँ हजारौंको संख्यामा बिदेशिने गरेको समय हो ।

यस्तो समयमा गौतमको निर्णयले धेरै महत्व राख्छ र धेरै सन्देशहरु दिन्छ पनि । गौतमले वेलायत छाडी नेपाल फर्कने निर्णय गर्नुका आधारहरुका बिषयमा यसरी ब्यक्त गरेका छन् – “१ पाईला अगाडी बढ्दा १० पाईला पछाडी तान्ने जमात भएको देश नेपालमा मेरो भोली चुनौतिपूर्ण छ । तर ती चुनौतीहरुसंग डटेर सामना गर्ने मसंग आत्मविश्वास छ, आत्मबल छ । … आशा गरौ मेरो वरिपरी भएका ब्यक्ति, नेपाली समाज र सिंगो देशले मलाई नेपालमै स्थापित हुन सहयोग गर्ने छ ।”

गौतम भन्छन् “मलाई यहाँको सुख सुबिधा, झिलिमिली भन्दा नेपालको धुलो, माटो र अन्धकार नै प्यारो छ । ……… म बेलायत आउदा मेरो उमेर अलि सानो थियो, म देश र राष्ट्रियता भनेको बुझ्थिन । तर आज म परिपक्क भएको छु । देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबैभन्दा ठुलो कुरा मभित्र जे गरे पनि आफ्नै देशमा नै गर्नुपर्छ भन्ने भावना जागृत भएर आएको छ । … नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ, … पर्यटन, कृषि, हाईड्रो पावर, खनिज आदिमा सरकारले ईमान्दारिताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ, तर सबैभन्दा पहिला जनता सचेत हुनुपर्यो ।”

गौतम भन्छन् देशका लागि केहि गरौ भन्ने मानिस नेपालमा टिक्नै सक्दैन, टिक्न नै दिदैनन । नेपालमा सत्य बोल्दा ज्यान मार्ने धम्की आउछ । राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन, भने चोर, फटाहा, डाकाहरुको चाहि हाली मुहाली छ । उमेर छदै आफ्नै देश फर्कनु पर्छ र आफूले देखेको, सिकेको र कमाएको कुरा देशमै खर्चिनु पर्छ भन्ने मेरो मान्यता हो । म बेलायत त्यागेर नेपाल फर्किदै छु, नेपालको लागि म एउटा लक्ष्मण गौतम ठूलो कुरा होईन, तर यदि म नेपालको वातावरणमा भिजेर नेपालमै बस्न सके भने त्यस्ले अवस्य पनि बिदेशमा बिदेशी नागरिकता लिएर बसेका लाखौ युवालाई नेपाल फर्किन उत्प्रेरित गर्नेछ, तर यदि म नेपालमा टिक्न सकिन र फेरि विदेश नै हिड्न पर्यो भने मेरो कथा पढेका साथीहरु नेपाल फर्किनेबारे १०० पटक सोच्न बाध्य हुनेछन । पहाडको मान्छे तराई वा तराईको मान्छे पहाड गएर त बस्न सक्दैन भने २० औ बर्ष बेलायत, अमेरिका जस्ता बिकसित देशमा बसेको मान्छे नेपालमा गएर बस्न त्यति सजिलो छैन ।” यसरी गौतमले नेपाल फर्कनुमा राष्ट्रियता, मौलाउदो भ्रष्ट्राचार देशको खस्किदो आर्थिक अवस्था जस्ता मह्त्वपूर्ण बिषयहरुलाई आधार बनाउनु भएको देखिन्छ र ती क्षेत्रहरुमा आफूले सक्दो केही गर्ने र आवाज उठाउने स्पस्ट संकेत दिनु भएको छ । उठान गरिएको अत्यन्तै महत्वपूर्ण कुरो अर्को के पनि हो भने यसरी कर्तब्य एबं दायित्वबोध गरेर नेपाल फर्कनेको असफलताले त्यसरी नै फर्कन सक्ने अन्य कयौंलाई हतोत्साहित र निरुत्साहित बनाउन सक्ने भएकोले देशले पनि यस्ता ब्यक्तिहरुलाई सफल बनाएर त्यसरी नै नेपाल फर्कन सक्ने संभाबित ब्यक्तिहरुलाई नेपाल फर्कन उत्प्रेरित र अभिप्रेरित गर्ने बातावरण तयार गर्नबाट चुक्नु हुन्न ।

अन्त्यमा, नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य गौतमले भने – नेपालमा स्थापित पुराना कुनै पनि राजनितीक दलका सिद्दान्त नराम्रा छैनन मात्र पार्टी चलाऊने ब्यक्त्तीहरु खराव हुन तसर्थ हामीले यिनै पुराना दलहरु लाई सुधार्दै खराव ब्यक्त्तीहरुलाई बिस्थापित गराउदै अगाडी बढ्नु पर्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया