२५ वर्षमा नेपाललाई विश्वमै धनी बनाउने बाबुरामको घोषणा

काठमाडौं २३ जेठ ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताएका छन् ।ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तर्क्रियामा उनले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गरे । मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाइ थियो ।

दश वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी देश बनाउने लक्ष्य रहेको बताउँदै उनले भने, ‘यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ ।’ भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने उनले बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया