२८ वर्षपछि दमदमकली र सरस्वतीकली पुरानै घरमा

काठमाडौं–४ असार

कोसी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा काज सरुवा भएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि पुरानै घर फिर्ता आएका छन् । आरक्षले भदौमा हात्ती फर्काउन वन्यजन्तु विभागलाई पत्र पठाएको थियो । चितवनबाट दुईटा ट्रकमा हालेर २४ घण्टाको लामो यात्रापछि दुवै हात्ती कोसी पुगेका हुन् । आरक्षमा शोभाकली, अम्बिकाकली र लक्ष्मीकलीसँगै अब चितवनबाट थपिएका सहित ५ हात्तीको बास हुने भएको छ । अरु तीनवटा हात्ती काज फिर्ता हुन बाँकी छन् ।

चितवनमा हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक बढेपछि २०४५ मा ती शात्ती चितवन लगिएको आरक्ष प्रशासनले जनाएको छ । आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने संरक्षण अधिकृत श्यामकुमार साहले बताए । हात्तीमा चढेर आरक्ष घुम्दा विदेशी पर्यटकका लागि दुई हजार र स्वदेशीलाई ५ सय रुपैयाँ राजस्व लिइँदै आएको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया