२ अर्ब रुपैयाँ लगानीमा आइएमई ग्रुपको कागज उद्योग सञ्चालनमा : प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं, फागुन २२, २०८१ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा २ अर्ब रुपैया लगानी गरेर आइएमई ग्रुपले कागज उद्योग सञ्चालनमा ल्याएको छ । गौशाला–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आजदेखि आएको छ ।

आज (विहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्योगको औपचारिक उद्घाटन गरियो । यसै अवसरमा प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गर्नुभयो ।

आईएमई ग्रुपको यति ठूलो लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन गरेर कार्यको थालनी गरेको छ ।

यसै सन्दर्भमा उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताउनु भयो ।

उद्योग, कलकारखानाहरु धमाधम बन्द भइरहेको र लगानीकर्ताहरु पलायन हुने अवस्थामा यस उद्योगले करिव ३०० कर्मचारीलाई रोजगार दिन अवसर जुराउन सफल भएकोमा आफूलाई गौरव महशुस भएको अध्यक्ष ढकालले बताउनु भयो । यसस कार्यलाई मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गर्नु भयो ।

स्वेदशमा औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिने विश्वास दिलाउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया