३ पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेर बजार बन्द भएपछि लगानीकर्ताहरु हौसिय

काठमाण्डौ २४ मंसिर २०८०।
मौद्रिक नीतिको समिक्षा पछिको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा ३ पटकसम्म ‘सर्किट ब्रेक’ लागेको छ । आज कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको दोस्रो पटक २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र फेरी ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

त्यसपछि खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार नै बन्द भएको हो । आज आइतबार नेप्से १११ अंक बढेर १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । विश्लेषकहरुले बजार बुलको ‘बुल ट्रेण्ड’ गएको प्रतिक्रिया दिइरहेका छन् । ६ महिनाभन्दा बढी समयमा उच्चतम् बिन्दुबाट २० प्रतिशतभन्दा तल बजार झर्नु ‘बियरिस ट्रेण्ड’ मानिन्छ भने त्यसको उल्टो न्यूनतम बिन्दुबाट २० प्रतिशतभन्दा धेरै उक्लिनुलाई ‘बुल ट्रेण्ड’ मानिन्छ । बजार न्युनतम विन्दुमा पुगिसकेको अवस्थामा राष्ट बैकले शेयर बजार प्रति सकारात्मक खालको नीति लिएको कारण बजारले फराकिलो हिसावले बढ्ने लगानीकर्ताहरुले आशा लिएका छन् । शेयर बजार बुलिसको अवस्था पार गरेर बुलको अवस्थामा प्रवेश गरेको धेरैको प्रतिक्रिया रहेको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।

आजको बजारमा जलविद्युत् समूह सबैभन्दा धेरै ८।६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६।७, बैंकिङ ५।६, विकास बैंक ६।५, फाइनान्स ६।५, लगानी ६।४, जीवन बीमा ५।३, माइक्रोफाइनान्स ५।६, उत्पादन ४।८, निर्जीवन बीमा ५।२, अन्य ४।५ र ब्यापार उपसमूह ५।८ प्रतिशतले बढेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया