४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं ५ माघ

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको खबर आजको नयाँ पत्रिकामा छ ।

फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन् । ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ ।

सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताए । तर, विभागमा परीक्षण गरिएका शव गाड्ने ठाउँ सानो भएकाले समस्या देखिएको छ ।

पछिल्लो समय सनाखत नभएका शवहरूको संख्यामा वृद्धि भइरहेको फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्तीले बताए । तर, जग्गा अभावमा शव गाड्ने मापदण्ड पूरा नभएको उनको भनाइ छ । आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए ।

‘एकपटक गाडेपछि सदाका लागि त्यस स्थानमा शव गाड्न पाइँदैन । एकले अर्कालाई छुनुहुँदैन,’ प्रोफेसर वस्तीले भने, ‘दुर्भाग्य हामीसँग जग्गा छैन । राज्य बेखबर छ । हामी बाध्य भएर एकै ठाउँमा शव गाडिरहेका छौँ ।’ अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ ।

पहिलोपटक सुन्दै छु, बुझेर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री 
‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु । यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछु ।’

शव गाड्ने ठाउँ त्यही हो, विकल्प छैन : डा. हरिहर वस्ती 
कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ । कैयौँ शवको सनाखत हुन सक्दैन । त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ । तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन ।

विद्यार्थीलाई नचाहिने भाग खाल्डोमा हालिन्छ
त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएको थियो । विद्यार्थीलाई आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया