४६ देशका ३६० आरोही सगरमाथातर्फ

काठमाडौं, ३ बैशाख  ।

यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि सोमबारसम्म नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही त्यसतर्फ लागेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति पाएका छन् । यिनमा ७० महिला र २ सय ९० पुरुष छन् ।

नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । हालसम्म सबैभन्दा धेरै भारतका ८३, अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागेका छन् ।

विभागले यी आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको छ । वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर ९करिब १२ लाख रुपैयाँ० आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ ।

सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महँगो हिमालको सूचीमा पर्छ । विदेशीका लागि वसन्तकालीन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउँद र बर्खायाममा २ हजार ७ सय ५० डलर मात्रै लिन्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ ।

यस पटक सगरमाथाबाहेक अन्य १९ हिमालमा पनि आरोही गइहेका छन् । यिनमा सोमबारसम्म ३ सय ३१ आरोहीले अनुमति लिएका छन् । १९ मध्ये सिन्धुपाल्चोक क्षेत्रमा पर्ने जुगल हिमशृंखलाअन्तर्गत रहेको ग्याल्जेन पिक आरोहणका लागि गएका ६ मध्ये ३ जनाले आरोहण सकिसकेका छन् । विभागले सोमबारसम्म यी सबै हिमाल आरोहणका लागि ४६ करोड ५९ लाख सलामी दस्तुर संकलन गरिसकेको छ । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया