५९ मत गन्न बाँकी हुँदा भक्तपुर क्याम्पसमा लफडा 

भक्तपुर, चैत ६, २०८१ । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ । 

भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको मत गणनाका क्रममा २ सय भन्दा बढी मतको अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो । 

स्ववियूको निर्वाचन सम्पन्न भएपस्चात बनाइएको आचार संहिता अनुसार नै मतगणना हुँदै गर्दा नेविसंघका उम्मेदवार २ सय भन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेक्राविसंघका गणनामा बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन् । 

समानुपातिक र प्रत्यक्ष तर्फका मतहरू एक अर्काका बाकसमा पनि हुन सक्ने र सो मत सदर मानिने भनिएको थियो तर समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्ष तर्फको ३ मत प्रत्यक्षतर्फ गणना गरी रहेको स्थानमा ल्याएपछि विवाद भएको थियो । विवादका बिच नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू गणना स्थल छोडेर नारा बाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको गणनामा बसेका एक प्रतिनिधिले बताए । 

आफू हार्ने पक्का पक्की भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरू बताउँछन् । 

२०६० साल देखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले विभिन्न बहाना गर्दै आएको अनेरास्वीयूका एक नेताले बताए । 

२०६० सालमा नेक्राविसंघ दुई टुक्रा भएको नेविसंघको एक खेमा साथमा लिएर स्ववियू सभापतिमा विजयी भएको थियो । यस्तै २०६२ र २०६५ सालमा अनेरास्वीयूलाई साथमा लिएर २०७३ मा नेविसंघ सँग संयुक्त प्यानल बनाएर नेक्राविसंघ नेपाल भरमा एक मात्र क्याम्पस भक्तपुर क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्दै आएको थियो । अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको प्यानल निर्वाचनमा होमिएपछि स्ववियू बाहिर भएको नेक्राविसंघ यो पटक पनि नेविसंघ र अनेरास्वीयूको नै प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्का भएपछि मतगणनामा लफडा गर्दै आएको विद्यार्थी नेताहरू बताउँछन् । 

३ मत बढी आएपछि यो कसरी आयो भन्ने विषयमा विवाद भएको नेक्राविसंघका एक नेताले बताए । उनका अनुसार आचार संहिता अनुसार गणना भएको छैन समानुपातिक मतपेटिकामा भएको प्रत्यक्ष मत बढी मत हो यो कसरी आयो यहा धाँधली भएको छ भन्दै हामी गणना स्थलबाट बाहिरिएको उनको भनाई छ । कुन मत सदर हुने कुन बदर हुने भन्ने विषयमा सहमति भएको भए पनि समानुपातिकको मतपेटिकामा फेला परेको मत बढी नै भएको मत भएका कारण आफूहरूको यसमा विमति भएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया