२७ बैंकको सम्बन्ध बिच्छेद गर्ने निर्णयपछि एनआईसी एसियाको यस्तो प्रतिक्रिया

बिजनेसपाटी २५ फागुन ।
 नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ। एनआइसी एसिया सहित २८ वटै बैंकबीच गत शुक्रबार बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो । सो सहमति बिपरित ब्याजदर १२ प्रतिसत पुर्याएको भन्दै  बैंकर्स संघको आज बसेको बैठकले एनआइसी एसियासंग अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो।  शुक्रबारको बैंकहरुबीचको सो सहमति लगत्तै एआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो।
तर हिजो बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेको थियो। सुचना सार्बजनिक गरेसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकबाट राजिनामा गरेका थिए। रिसालले नै नेपाल बैंकर्स संघमा सो सहमति गरेका थिए। सो सहमति कायम गर्न नसकेपछि रिसालले बैंक छाड्ने निर्णय समेत गरिसकेका छन्।
यता बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको निर्णय प्रति एनआईसी एसिया बैंकले भने ‘आपत्ति’ जनाएको छ।
 संघले गरेको निर्णयमा बैंकका सहायक प्रमुख कार्यकारी सुधिरनाथ पाण्डेले भन्छन् , ‘मिडियामा आएको खबर बाहेक औपचारिक रुपमा हामीलाई यसबारे केहि थाहा छैन, यदि सो सत्य हो भने पनि हामि पनि आफ्नै नीति अनुसार अगाडी बढ्छौं।’

फेसबुकबाट तपाईको प्रतिक्रिया