यसकारण स्थानीयवासी गाउँ छाड्न बाध्य

काठमाडौँ २१ जेठ

रामपुर, पाल्पा – खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । यहाँका करीब ३०० घरपरिवार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् ।पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ सरेर जाँदा अहिले गाउँमा झन्डै २०० घरपरिवार मात्र रहेका छन् । उनीहरु पनि खानेपानीको चरम अभाव र समस्या झेल्दै आएका छन् ।वर्षौंदेखि खानेपानीको समस्याले सताइरहेको ७६ वर्षीय लालबहादुर सारुले बताउनुभयो । पहिले डाँडाको बस्तीभन्दा तल पानीको स्रोत थियो तर त्यो स्रोत पनि सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको उहाँले बताउनुभयो । एक गाग्री पानी लिन झण्डै दुई घण्टा पैदल हिँड्नुपर्छ ।

गाउँमा कमाइ भएकाजति सबै अन्यत्र गएको स्थानीय हुमबहादुर सारु बताउनुहुन्छ । यो क्षेत्र कृषिका लागि अत्यन्त राम्रो छ तर खानेपानीको राम्रो स्रोत नहुँदा स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।बस्तीभन्दा डेढ किलो मिटर तल सानो ट्याङ्की बाँधिएको छ, त्यो पनि अहिले जीर्ण हँुदै गएपछि पानी कम हुँदै गएको छ । बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानी खोज्न जानुपर्ने समस्या वर्षेनी हुन्छ, अब त जनप्रतिनिधि गाउँमा आएका छन्, केही हुन्छ कि भन्ने आशा पलाएको पार्वती सारुले बताउनुभयो ।

यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउनुहुन्छ ।कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएकाले अर्को आर्थिक वर्षबाट दोस्रो चरणको कामको थालनी गरिने अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले रु २० लाख रकम विनियोजन गरेर पानीको मुख्य स्रोत नजिकै ट्याङ्की निर्माण गरिएको अध्यक्ष थापा बताउनुहुन्छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया