ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा उपसभापति बिश्व प्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा राखेका थिए ।
त्यो प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले एकमतले पारित गरेको थियो । उम्मेदवार घोषणा गर्दा ५ मापदण्ड बनाएर त्यसलाई स्वीकार गर्ने गरी उम्मेदवार घोषणा गरिएको हो । जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको कांग्रेसले बताएको छ । ती मापदण्ड व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन रहेका छन्।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका थिए । उनले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा लेखिएको छ, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया