ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिने काठमाडौँ उपत्यकाका नेताहरूले उपत्यकाको एकीकृत विकासलाई कार्यान्वयनमा प्रमुख प्राथमिकता बनाउने बताएका छन् ।
आज यहाँ एमाले राजधानी विशेष प्रदेश कमिटी र प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा भएको ‘उम्मेदवार–पत्रकार संवाद’ कार्यक्रममा नेताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा, काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले पार्टी घोषणापत्रमा उल्लेखित मुद्दाहरूलाई समयबद्ध तालिकासहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपत्यकाको विकासमा पार्टीले सधैं महत्त्व दिँदै आएको बताए ।
काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराईले देशको भूराजनीतिक अवस्था र वर्तमान परिस्थितिलाई ध्यानमा राखेर मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे।
भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले एमालेको विकास, समृद्धि र राष्ट्रिय हितमा कटिबद्धता रहेको बताए । साथै, राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालले उपत्यकाको एकीकृत विकासलाई प्राथमिकता दिइने स्पष्ट पारे ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया