अनलाईन कारोबार प्रणालीलाई पूर्ण-स्वचालित बनाउने तयारी हुदैछ : बोर्डका अध्यक्ष ढुङ्गाना

काठमाण्डौ १७ बैशाख, २०७७
नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण नभइ हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन खुलेको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाईन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे ।
यसका लागि नेप्से र बोर्डनै लागि परेको उनले बताए । सरकाले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन हामी बजार सम्बद्ध निकायहरुमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हुदाँ बजार खोल्न नसकिएको उनले प्रष्ट पारे । तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार गर्ने पक्षमा छौ । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया