अन्ततः युक्रेन र अमेरिकाबीच भयो समझदारी

काठमाडौं, फागुन २८ । युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार साउदी अरेबियाको जेद्दामा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा युक्रेन र अमेरिकाबीच भएको समझदारीमा ३० दिनका लागि अस्थायी युद्धविरामको सहमति भएको छ । युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ। वार्तामा युक्रेनबाट राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री तथा उच्च सैनिक अधिकारीहरुको सहभागिता थियो ।

गत साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको थियो । त्यसपछि मङगलबार पहिलोपटक युक्रेन र अमेरिका वार्तामा बसेका हुन् ।
अमेरिकाको ह्वाइट हाउसमा आयोजित एक विशेष कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र रुसले पनि समर्थन गर्नेमा आफू विस्वस्त रहेको बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने आपसी समझदारीका लागि आफ्नो अहम भूमिका रहने बताए ।

मङ्गलबार सम्पन्न वार्तामा वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताएका थिए । उनले वार्ताको लागि पहल गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासलाई सराहना गर्दै वार्ताको मुख्य उद्देश्य भनेको युद्धको अन्त्य रहेको समेत प्रष्ट पारेका थिए ।

युक्रेन र अमेरिका बीचको ३० दिने अस्थायी युद्धविरामको सहमति भए पश्चात् अब प्रस्तुत युद्धविराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउनेछ भन्ने सबैको चासोको विषय बन्दैछ । यो विषयमा रुसका पनि सहभागिता देखियो भने युद्धको अन्त्य हुने सम्भावन प्रवल देखिने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया