अर्थमन्त्रीलाई बाबुराम भट्टराईको ९ सुझाव

काठमाडौँ ६ जेठ ।

नेपाल सरकारका अर्थमन्त्री  बिष्णु पौडेलको आग्रहमा पूर्वप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका लागि निम्न बमोजिम सुझावहरु दिएका छन्। सुझाव यस्ता छन ।

१. नीतिगत रुपमा तीब्र आर्थिक बृद्धि र रोजगारी सिर्जनालाई बजेटको मुख्य लक्ष्य बनाउने ।

२. तत्कालिन पपुलिष्ट खालका कार्यक्रमभन्दा देशको आर्थिक समृद्धिको आधार तयार गर्ने रणनीतिक महत्वका योजनालाई प्राथमिकता दिने। अर्थात परम्परागत ढंगका कनिका छर्ने बजेटभन्दा निश्चित क्षेत्रका रणनीतिक महत्वका कार्यक्रममा बजेट केन्द्रित गर्ने ।

३. यो बर्ष भूकम्प पछिको पुनर्निर्माण÷नवनिर्माणका कार्यक्रमलाई विशेष प्राथमिकता दिने ।

४. राष्ट्रिय गौरवका ठूला पूर्वाधार योजनाहरु (सडक, जलविद्युत, पर्यटन, सिंचाई) लाई पर्याप्त बजेट विनियोजन गर्ने। बजेटको रकमान्तर गर्न नपाइने र योजनाको व्यवस्थापनलाई अनावश्यक ढंगले खल्बल्याउन नहुने ।

५. कृषि नै रोजगारीको मुख्य क्षेत्र हुनाले त्यसको रुपान्तरण, व्यवसायीकरण र आधुनिकीकरणलाई उच्च प्राथमिकता दिने ।

६. चुलिँदो वैदेशिक व्यापार घाटा न्युनीकरण गर्न तुलनात्मक लाभका निर्यातमुखी उत्पादनशील उद्योगको विकासलाई प्रवर्धन गर्ने ।

७. साना र मध्यम उद्यमी, युवा स्वरोजगार तथा विद्यार्थीको उच्च शिक्षाका निम्ति वित्तीय पहुँचलाई सुलभ र सरल बनाउने ।

८. सामाजिक सुरक्षा कार्यक्रम, कृषि, स्वास्थ्य विमालाई विस्तारित गर्ने ।

९. राजश्व प्रशासनलाई आमूल सुधार गर्ने र बजेट खर्च गर्ने क्षमता अभिवृद्धि गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया