आँखा खोलेर हेर (कविता)
–भरत भारद्धाज
यदि आँखा चिम्लेका छौ भने
आँखा खोलेर हेर
राजधानीमा फोहोरको पहाड देखिनेछ
हिलाम्मे सहर देखिनेछ
धुलाम्मे सडक बस्ती सडक देखिनेछ
माननीय सांसदका जघन्य अपराधका सूची देखिनेछ
हावा हुरी र भुकम्पको खतरा भोगिरहेका झुपडी देखिनेछ
कर्णालीका अफ्रिकन शैलीका भोकमरी देखिनेछ
जर्जर अस्पताल र द्रब्य लोभी डाक्टरका कर्तुत देखिनेछ
एयरपोर्टमा बेरोजगार युवाहरुको ताँती देखिनेछ
दिनहुँ अपरहण हत्या र चोरी अपराधका समाचार देखिनेछ
सत्यवादी शुकरातको खोक्रो पेट देखिनेछ
कटनी गरेका ठुटा रुखहरुको दृश्य देखिनेछ
मेलम्चिको अभावमा काकाकुल राजधानीबासीको रोदन देखिनेछ
थोत्रा जहाज कमिशनको पहाडमा ठोक्किएको घटना देखिनेछ
नव सामन्त कामरेडहरुको राजसी ठाँट देखिनेछ
जस्तो दिनहूँ विदेश भ्रमण
अपाच्य सेवा सुविधा
पोजेरोको ताँती
विदेशमा उपचार
कार्यकर्तालाई पृष्ठ पोषण
कर राजश्वको दोहन
शक्तिको दुरुपयोग
आँखा खोलेर हेर
विदेशी दातासँग हात थापेको दृश्य देखिनेछ
शिक्षित युवाको विदेश पलायन देखिनेछ
कृश्चियन मिशनको होली वाइनमा रमेको देखिन्छ
प्रेश माथिको दमन देखिनेछ
धर्म संस्कृति माथीको अतिक्रमण भएको देखिनेछ
अभाव गरिबी महँगी देखिनेछ
चतुर न्यायधिशले न्यायको खिल्ली उडाएको देखिनेछ
अख्तियारको दुरुपयोग उच्चपदस्थ बाटै भएको देखिनेछ
यस्ता अनगिन्ती दर्दनाक, शर्मनाक, भयनाक दृश्य देखिनेछ
जसले गर्दा पुनः आँखा चिम्लनु पर्ने हुन्छ
तैपनि प्रधान मन्त्री महोदय भन्नु हुन्छ आँखा खोलेर हेर ।
प्रकासित मिति २०७६-७-७
फेसबुकबाट तपाईको प्रतिक्रिया