आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा अष्ट्रेलिया पराजित

काठमाडौं, २१ फागुन, २०८१ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको यस रोमाञ्चक खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९–३ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनाएको थियो। यसको जवाफमा, भारतले ४८–१ ओभरमा ६ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गर्‍यो।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रनको योगदान दिए। भारतका बलरहरूमध्ये मोहम्मद शमीले ३ विकेट लिए भने रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए। भारतको इनिङ्समा विराट कोहलीले ८४ रनको महत्वपूर्ण पारी खेले। श्रेयस अय्यरले ४५ रन र केएल राहुलले ४२ रन बनाए। हार्दिक पाण्ड्याले २४ बलमा २८ रनको योगदान दिएर फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस जितसँगै भारतले १५ महिना अघि एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियासँग भएको पराजयको बदला लिएको छ। त्यतिबेला अस्ट्रेलियाले भारतलाई फाइनलमा पराजित गरेको थियो।

भारतले १४ वर्षपछि आईसीसी नकआउट खेलमा अस्ट्रेलियालाई पराजित गरेको हो। यसअघि २०११ को एकदिवसीय विश्वकपको क्वार्टरफाइनलमा भारतले अस्ट्रेलियालाई हराएको थियो। अब भारतले मार्च ९ मा हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया