आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिरदलेर हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं, फागुन २९ ।
आज फागु पूर्णिमा अर्थात होली । एक आपसमा रङ र अबिर दलेर हर्षोल्लासका साथ मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व विशेष उमंगका साथ मनाउने गरिन्छ ।
नेपाली संस्कृति र परम्परा अनुसार काठमाडौंको बसन्तपुरमा चीर ठड्याएपछि यस पर्वको सुरुवात गरिन्छ । बसन्त ऋतुको आगमनसँगै विशेष हर्षोल्लासका साथ मनाइने यस फागु पूर्णिमाको आफ्नै महत्व छ ।
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीय हिन्दूधर्मावलम्बीहरुले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ ।
विशेष गरी पहाडी र हिमाली भेगमा आज उल्लासपूर्वक फागु पूर्णिमा भनाइन्छ भने तराईका जिल्लाहरुमा भोली अर्थात शुक्रबार होलीका नामले विशेष यो पर्व मनाइन्छ । तराईबासीहरुले नाचगानका साथ आफ्ना इष्टमित्रसँग बसेर मिठा मिठा परिकारहरु खाँदै झनै विशेष तरिकाले होली मनाउने प्रचलन रहेको छ ।
एक–आपसमा विभिन्न रंग र अबिर दलेर खुसी साट्दै मनाइने यस पर्वको छुट्टै खालको धार्मिक्, साँस्कृतिक र सामाजिक महत्व रहेको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । त्यसैले असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा यो पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् ।
युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।
सधैजसो यस वर्ष पनि होलीमा मादक पदार्थ सेवन गरेर हो हल्ला गर्ने तथा आपराधिक गतिविधि बढ्न सक्ने भन्दै यस्ता दुर्घटनालाई रोक्न प्रहरीले विशेष सुरक्षा नीति अपनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया