‘आन्दोलनमा करङ भाँचिएकाले अरु गर्न सक्दिन, होटल व्यवसायमा आत्मनिर्भर छु’

शिवप्रसाद अधिकारी,
भक्तपुर जिल्ला नेता, माओवादी केन्द्र

जुन सोच, लक्ष्यसाथ तपाईहरुले माओवादी जनयुद्ध लड्नुभयो । त्यो लक्ष्य अहिलेसम्म आउँदाखेरी पुरा भएको महसुस गर्नु भएको छ कि छैन?
परिवर्तनका लागि क्रान्ति, विद्रोह विभिन्न किसिमले हुन्छन् । गरिन्छन् । कसैले वौद्धिक हिसावले लेखेर विद्रोह गर्छ । कोही सडकमा उत्रिएर विद्रोह गर्छ । विद्रोहको शिलशिलामा हिजोदेखि नै राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी आन्दोलन, बहुदल प्राप्तीको आन्दोलन, त्यसमा फेरी काँग्रेसको सरकार आयो बहुमतको । त्यहाँ भित्र पनि आन्तरिक विद्रोहहरु भए । नेपाली जनताको हकहित ती आन्दोलनहरुबाट पनि सम्बोधन हुन नकेपछि ०५२ सालबाट माओवादी विद्रोहको लाइन सुरु भयो । त्यसमा म किन सामेल भएँ भन्दाखेरी सामान्य खालको आन्दोलनबाट देशमा परिवर्तन हुँदो रहेनछ भनेर हो । यो देशमा विदेशीहरुको नितान्त हस्तक्षेप, विदेशी दलालहरुले सबैठाँउमा आफ्नो जरो गाडेको अवस्थाबाट विदेशी र स्वदेशी सामन्तहरुको राज्य व्यवस्थाको अन्त्य गरेर जनताको राज्य व्यवस्था स्थापना गर्नका लागि हतियार उठाउने कुरामा हामीले सहमती गरेका हौं । जनयुद्ध लडेको हौं ।
अधिकाशं न्युन पुँजीपति वर्ग या तल्लो तहका मान्छेको जिवनस्तर कुनैपनि ठाउँबाट उठ्न नसकेको र स्वास्थ्य, शिक्षा, रोजगारी लगायत कुराको कुनै ग्यारेन्टी तथा सहजता नभएकाले मरिसकेको न्याय ब्युतेला कि भनेर हामी युद्धमा गयौं । आन्दोलनकै शिलशिलामा ०६२–६३ को जनविद्रोहमा सबै नेपाली बाहिर निस्किएपछि अव त केही न केही हुन्छ भन्ने भयो । तर राज्य शक्ता अहिलेको अवस्थामा आइपुग्दा पनि ज्युका त्युँ नै रह्यो । त्यसमा दुख छ । सामन्तहरुको ठाउँ तिनै पुरानै सामन्तले ओगटेका छन् । इमानदार मान्छे, देशमा परिवर्तन हुनुपर्छ भन्ने मान्छेले कुनै ठाउँमा अवसर पाएन । पाएकाहरुले पनि गर्नसक्ने अवस्था भएन । अहिले वाक स्वतन्त्रता छ । लेख्ने स्वतन्त्रता छ । लोकतन्त्र केही हदसम्म आएको छ । त्यसलाई पनि कतै न कतैबाट निमोठ्न खोजिएको छ । त्यसकारण राजनीतिक उदेश्य पुरा हुँदै भएन भन्ने चाँही होइन । तर सोचे अनुसार नभएकै हो ।
अहिलेको राजनीतिक परिस्थीतिलाई कसरी हेर्नुभएको छ ?
विशेषगरी माथिल्लो लेयरमा भएका पोलिटब्युरो, केन्द्रिय कमिटि, पार्टी भित्र पनि पावरमा पुगेका मान्छेहरुमा घमण्ड धेरै देख्छु । सबै पार्टी र सबैसँग शक्ता सौदाबाजीमा एकता हुने अवस्था छ । बर्गिय भन्ने नै छैन । बर्गिय शत्रु, बर्गिय मित्र छुटिन नसक्ने अवस्था छ । काँगे्रससँग एलायन्स गरेर पनि सरकार बनाउने, राजावादीहरुसँग पनि बन्नसक्ने देखियो यो गणतन्त्रपछि पनि । भष्टाचारका कुरा निस्कदा कार्वाही नहुने खालको परिस्थीति देखियो । त्यसकारण नयाँ मोडल नआई अव यो व्यवस्थाबाट परिवर्तन होला जस्तो लाग्दैन ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा तपाई पनि चाँगुनारायण नगरपालिका भक्तपुरको मेयरको प्रत्याशि हुनुहुन्थ्यो ? तर जित्नु भएन नी ।
जित्ने अवस्था नै थिएन । पुराना पार्टीहरुको जस्तो संगठन नै थिएन । फेरी व्यक्ति प्रधान हुदैन । शक्ता प्रधान हुन्छ । हामीले केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटा शक्ताको मोडल जसरी संविधानमा व्यवस्था गर्यौ । पहिलो नम्बरमा त माथीदेखि तलसम्म भष्टाचारको दलदल भयो अहिले । त्यसले के गर्यो भन्दा स्थानीय तहको मान्छेले पनि पाउनु पर्ने कुरा पाए । जस्तो भुँइचालोमा पनि पाए । तर भुइचालो जाने वित्तिकै पालमा पनि भष्ट्राचार भयो । आर्थिक रुपमा एकदम मिसयुज भयो । अहिलेको बाहुल्यता भनेको नियतमा खरावी भएकाहरुको बाहुल्यता हो । सबै ठाउँमा जनताहरु वाक्कदिक्क भएको अवस्था छ अहिले । विना पूर्वाधार नगरपालिकाहरु बनाइयो । त्यो बनाएपछि सबै जनतालाई करको दायरामा ल्याइयो । एउटा खान नपुग्ने गरिवलाइ पनि करको दायरामा ल्याइयो । छाप्रामा बस्नेलाई पनि करको दायरामा राखियो । गरिव उत्पिडितलाई झन् दबाउने काम भयो । किसानले मल, विउ, पानी, सिँचाइ केही पाउँदैनन् । नालाहरु भताभुङ भएर विग्रेर गएका छन । नगरपालिकाहरुमा पनि स्वच्छ प्रतिनिधि भेटिन मुस्किल पर्ने अवस्था छ । धेरै–थोरै जे होला सबै कमाउ–धमाउमा लाग्या देखिन्छन् । नकमाई, पैसा खर्च नगरी चुनाब जित्न सकिदैन भन्ने जर्वजस्त मान्यता स्थापित छ । त्यसरी उनीहरु लागि सकेपछि सानो गरिव देशका हामीहरुले सुख पउने कुरै भएन ।

Shiva Prasad Adhikari


तपाई राजनीतिको मान्छे, होटल व्यवसायमा कसरी आउनुभयो ?
मसँग अहिले ५ जना कर्मचारी छन् । स्वच्छ खालको व्यवसाय गरेर दुई जना वा दश जनालाई मात्रै भएपनि रोजगारी दिन सकियो भने, रामे गुणस्तरीय खाना दिन सकियो भने त्योपनि सेवा नै हो । अब हामी त देशै परिवर्तन गर्न भनेर हिँडेका मान्छे । ओत लागेर, चिन्ता गरेर बसेर भएन भनेर यो सेवामुलक होटल ब्यवसाय थालेका हुँ । अहिले म करिव ६० बर्ष हुन लागेँ । यो उमेरलाई पनि सदुपयोग गरौं, चिन्ता गरेर किन बस्ने भनेर थालेको हुँ । काम गर्दा समेसम्म कसरी राम्रो गर्न सकिन्छ भन्ने उदेश्यले गरेको हो । ब्यवसाय गरिसकेपछि आर्थिक उर्पाजन स्वभाविक पनि हो । आत्मनिर्भर, रोजगार हुनुपर्छ भनेर गरेको हुँ । खेतीपाती गर्नका लागि त्यतिधेरै सकिदैन । फेरी हामी यातनाका मान्छे, हाम्रा करङहरु भाँचिएका छन् । २–२ ओटा करङ भाँचिएको छ मेरो यातनाका क्रममा । त्यसो भएकोले गारोसारो काम गर्न सकिदैन । खेत खन्न, भारी बोक्न सकिदैन । आन्दोलन अपरिहार्य थियो, हामीले त्यो गर्यौ । हाम्रै योगदानको बलमा गणतन्त्र आयो, लोकतन्त्र आयो, राजतन्त्र फालियो । त्यसमा गौरव गर्छौ । कुनै गुनासो छैनन् ।
यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ त ?
छु नि । भएर त उत्साहका साथ लागि रहेको छु । यसबाट पनि गुणस्तरीय सेवा गर्ने ठाउँ छ । आखिर सेवा गर्ने न हो । सन्तोषजनक नै छ । मान्नु पनि पर्छ । गुनासा छैनन् ।
चाँगुनारायण नगरपालिकाको तपाइ चुनावको प्रत्याशी तपाइले नगरको कामकार्वाहीलाई कसरी हेर्नु भा छ त ?
मेयर सोमप्रसाद मिश्र एउटा राम्रो मान्छे हो । पहिला त उहाँ सर पनि हो महेन्द्रग्राम क्याम्पसको । तर अहिलेको संरचनाभित्र पसिसकेपछि जस्तोसुकै विद्धवानले पनि उलेख्य काम गर्नेसक्ने हुदैन । संरचनामा जे छ, त्यही हुन्छ । देशको संरचनामा उहाँ हुनुहुन्छ । उहाँ माधब नेपालको सर्मथक हनुहुन्थ्यो । अहिले त केपी ओलीकोमा जानुभो भन्ने छ । त्यसरी क्याप परिवर्तन गर्दा अलिकति उहाँलाई अवसरवादी पनि भन्या छन् मान्छेहरुले । तर उहाँ नगरको आर्थिक–सामाजिक परिवर्तनमा लागि रहेकै देखेको छु । तर अहिलेको देशको संरचना नै सही नभएकोले धेरै गर्नसक्ने ठाउँ म देख्दिन । त्यो कसैले पनि गर्न सक्दैन ।
अन्त्यमा, अब फेरी मेयरमा लड्नु हुन्छ कि?
पार्टीले आवश्यक देख्यो । उठ्नु पर्यो शिवजी भन्यो भने त जनताको सेवा गर्ने अवसरलाई किन अस्वीकार गर्नु र । तर मेरो व्यक्तिगत रहर भने छैन । मलाइ नै दिनुस् भनेर म भन्दिन । म त शासन शक्ताको मोडलनै सहि बनाउनु पर्छ । समयसापेक्ष बदल्नु पर्छ भन्नेमा छु ।
प्रस्तुती : रिसव गौतम

प्रकासित मिति २०७८–३–२६

फेसबुकबाट तपाईको प्रतिक्रिया