आफैंले कोरेको बाटो : एक युटुबरको सफलता
काठमाण्डौ १६ असार, २०७७
संसारमा त्यस्तो एउटा पनि मानिस छैन, जसको जिन्दगी उसको रहर अनुसारको मात्र बनोस् । र, छैन त्यस्तो कुनै जिन्दगी जुन रहर पूरा भएन भनेर भागेर कतै जान सकोस् । समयले कहिले कहाँ लगेर पछार्छ मान्छेलाई । त कहिले ठूलो अप्ठेरोबाट उठाएर सफल बनाउँछ। लडेर उठ्न सक्नु नै यथार्थमा जिन्दगी हो । जसरी, एउटै बोटमा पनि फुल्दैनन् एउटै साइजका फूलहरु। जसरी मिल्दैन, एउटै खोकमा बसेका उही दम्पतिका सन्तानहरुको आकार । जसरी हुँदैनन् आफ्नै हातका औंला बराबर। त्यसरी नै हरेक मानिसको लक्ष र गन्तव्य फरक हुन्छ।कत्तिको रहरले फरक हुन्छ। कत्तिको समयको दौडमा दौडँदै जाँदा आफैं । आजभन्दा २७ बर्ष अघिको समय । संखुवासभाको मकालु ३ आला भन्ने ठाउँ । र, त्यही ठाउंमा नरधोज राई र कान्छीमाया राईको अन्तिम सन्तानको रूपमा जन्मेको एक शिशु । अर्थात् आजको एउटा कुशल युटुबर -विशाल राई ! बाल्यकालमा एकदम लजालु स्वभावका विशालले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै स्कूलमा थाले । माध्यमिक तहसम्म त्यहीँ अध्ययन गरे। इमान्दारितालाई आफ्नो धर्म मान्ने विशाल सानैदेखि लगनशिल र मेहनती थिए । काठमान्डु एउटा त्यस्तो शहर हो, जहाँ हज्जारौं सपनाहरु ‘इन्-एक्जिट्’ हुन्छन् हरेक दिन।
त्यही सपनाहरुको शहरमा अर्को एक सपना थपियो-२०६६ सालमा । अर्थात् उच्च शिक्षाको सपनाले विशाललाई पनि काठमान्डौतिर डोहोर्यायो । कोठा कहाँ खोज्ने ? कलेज कता भर्ना गर्ने ? कोसँग बस्ने ? काठमान्डौ आएर धेरै मानिसका सामुन्य उठ्ने यी प्रश्नहरुबाट भने विशाल मुक्त रहे । कारण- उनका दाइ उच्च शिक्षाका लागि यहीँ बसेर अध्ययन गर्दै थिए । विशाल दाइसँगै बसे। र, सामाखुसी स्थित नवोदित कलेजमा भर्ना भए- शिक्षा संकायतर्फ गणित बिषय लिएर। कपुरधारा देखि सामाखुसीसम्म ‘लेफ्ट-राइट’ सुरु भयो उनको । त्यहाँ उनले प्लस टु सम्मको अध्ययन गरे । स्नातकका लागि भने माछापोखरीमा रहेको ग्रामिण बहुमुखी क्याम्पसमा उनको रोजाई बन्यो। २०७२ सालमा स्नातक पुरा गरे । आफ्नो गाउँका प्राय: दाइहरु, समकालीन साथीहरु निजामती जागिरे भएकै कारण उनको दिमागमा पनि लोकसेवा पढेर निजामती कर्मचारी हुने भूत सवार् नभएको भने होइन । उनले रहर पूरा गर्न कोसिस नगरेका पनि होइनन् । एक बर्षसम्म नासु, खरदार, अधिकृतमा मोठा ठेलीहरु घोकेका पनि हुन् उनले । तर, रहर कहाँ पूरा हुन्छन् र सबैका । उनको ध्यान आइक्यु र प्रश्नोत्तर भन्दा पनि धेर टेक्निकल लाइनमा बस्यो । उनीसँग गाउँकै दौंतरी कृष्ण याम्फु राई फेरि जोडिए । जो प्लस टु पढ्दाताका सँगै कम्प्युटर सिक्ने क्रममा जोडिएका थिए। उनै कृष्णसग उनको सामिप्यता बढ्न थाल्यो, जो आइटीका राम्रा विद्यार्थी थिए। उनी सिक्थे पनि सिकाउँथे पनि । विशाल ती दिनहरु सम्झँदै भावुक मुद्रामा भन्छन्-“मलाई यो क्षेत्रमा प्रवेश गराउनुमा कृष्णको ठूलो हात छ । उनकै संगतले म आज यहाँ छु । सायद उनी थिएनन् भने मेरो जिन्दगीको गाडी अन्तै कतै मोडिन्थ्यो होला।” उनलाई दिदी भिनाजुको पनि उत्तिकै राम्रो प्रेरणा, हौसला र साथ रह्यो । त्यहीँबाट बदलियो विशालको सपना एकाएक ।उनी निजामतीको ह्याङओभरबाट बाहिर निस्केर भिडियो इडिटिङतिर लागे । उनले त्यहाँ आफ्नो सपनाको साकार रूप देखे । २०७४ सालदेखि आफ्ना सिकाइका अनुभवहरुलाई अझ फराकिलो आकार दिन उनले ‘मङसुङ टेक्नोलोजी’ नामको अफिस नै सन्चालन गरे । यात्राका क्रममा हन्डर ठक्कर नपाउने को हुन्छ र ? नपाएका होइनन् उनले पनि । तर, जिन्दगी त्यसले जित्छ, जो लडेर पनि फेरि उठ्न सक्छ। हन्डर, ठक्कर, अभावबाट बिचलित नभएका विशाल आफ्नो बेग्लै परिचयका साथ उभिएका छन् । धेरै कलाकारहरुको उनलाई साथ छ अहिले । उनी कलाकारहरुका प्रिय पात्र बनेका छन् । यतिसम्म कि उनी देशमा रहेका र देश बाहिर रहेका लगभग दुई सयभन्दा धेर युटुब च्यानलहरु चलाइदिन्छन् । भिडियो सम्पादन गरिदिने, युट्युब पोस्ट गर्ने मात्र होइन उनी ती च्यानलमा आइपर्ने सबै किसिमका ‘आन्तरिक समस्या’ समाधान सजिलै गरिन्छन् ।
त्यसका आलवा उनले युट्युब च्यानल एनालाइसिस, कपि राइटका कुरा उठाउने, डिजिटल मार्केटिङ, भिडियो सम्पादन, मिक्सिङ, भिएफएक्स, ग्राफिक डिजाइनिङ लगायतका विभिन्न खालका सर्भिस ग्राहक समक्ष दिइरहेका छन् । त्यहाँ उनले आफना अरु साथीहरु मार्फत वयव साइड डिजिइनिङ, विज्ञापन डिजाइनिङ, वयव होष्टङ, रजिष्टर लगायत अनलाइनसँग सम्बन्धित कामहरुको सेवा ग्राहकहरुलाई दिँदै आएका छन् । शहर छिर्दाको रहरभन्दा केही स्टेप बाहिर निस्किएर पनि आफ्नो काममा सन्तुष्ट छन् विशाल । बिहान दस बजे अफिस पुग्छन् । दिनभरी सेवा ग्राहीलाई सुलभ सेवा दिन्छन् । पाँच/सात बजे घर पुग्छन उनी । व्यस्तताको यही पेरिफेरिमा चलेको छ उनको जिन्दगी । इमान्दारितालाई मुख्य धर्म बनाएका इमान्दार प्रकृतिकै राई कुनै ग्राहकसँग पनि झर्किँदैनन् । कतिपय कामहरु दोहोर्याएर गर्नुपर्ने हुँदा पनि उनी हाँसिहाँसी गर्छन् । उनी भुल्दैनन्-ग्राहक आफ्ना भगवान् हुन् । पैसा भन्दा बढी आफ्नो असल परिचयमा जोड दिन्छन् उनी । भन्छन्-“पैसा त कमाउंला केही छैन । तर, मान्छेको विश्वास र मन कमाउनु मेरो मुख्य रहर हो ।” आजको डिजिटल बजारमा युट्युब एउटा त्यस्तो भेल मानिन्छ, जसले धेरैका सपनाहरुलाई बगाइदिएको पनि छ। र, धेरैका सपनालाई सोचेभन्दा धेर साकार पनि बनाइदिएको छ । विशाल भेल भएर उर्लन चाहँदैनन् । उनी कन्चन नदी भएर शालिन धूनमा बग्न चाहन्छन् । भन्छन्-‘कुनै प्रमाण बिना मनगढन्ते शीर्षक राखेर, थमनेलमा अनेक फोटाहरु राखेर क्षणिक समयको फाइदा हेरेर धेरै युटुबरहरु दौडिरहेका छन् ।यसले क्षणिक समयलाई उचाई त दिन्छ तर, यसरी टिकिरहन सकिन्न ।” यसकारण पनि आम युटुबर भन्दा फरक छ विशालको कार्यशैली । उनी आफ्नो पेशालाई मर्यादित बन्नुपर्छ भन्ने बिचार राख्छन् । यसरी उनी युटुबरहरुका प्रियि साथी हुदैछन् ।
प्रस्तुती : सगिता सुवेदी
प्रकासित मिति २०७७–३–१६
फेसबुकबाट तपाईको प्रतिक्रिया