आर्थिक सम्बृद्धि कसरी र कसका लागि ?

–विरोध अधिकारी

नेपालमा राजनैतिक क्रान्ति सकिएको पनि पाचौं पटक भयो । २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल अनि २०६२÷६३ सालको दोस्रो जनआन्दोलन । झनै यो २०६२÷६३ साल पछिको करिव १० वर्षे संक्रमणकाल पछि संविधान सभाले संविधान निर्माण गरेर ओली नेतृत्वको सरकार बनेपछि त राजनैतिक क्रान्ति पुरै सकिएर आर्थिक क्रान्ति सुरु भईसकेको छ । प्रधानमन्त्रि ओली नेपाली जनतालाई मनोरेल, पानीजहाज, हावाबाट बिजुली, घर घरमा पाईपबाट ग्यास दिने संमृद्धि कसरी ल्याउन सकिन्छ भनेर चिन्तित हुनुहुन्छ । सबै भन्दा गतिलो र महत्वपुर्ण रेल समृद्धि एकातिरबाट भारतले र उत्तर तिरबाट चिनले काठमान्डौसम्म र त्यसपछि पोखरा अनि लुम्विनि सम्मको यात्रा तय गर्नेछ । अबको पाँच वर्ष भित्र ओलीकै भाषामा कम्युनिष्टले मात्र होईन कागे्रंसले र एक रेल विषेशज्ञ मुटुको डाक्टरले पनि रेल समृद्धिको आनन्द लिन सक्नेछन् । सरकारको सबै भन्दा प्राथमिकतामा परेको रेल समृद्धि रोक्न नेपाली काँग्रेस मात्र होईन केहि तथा कथित विकास विज्ञ र अर्थविज्ञ समेत लागि परेका छन् ।
स्थानिय सरकार बनेको एक वर्ष भन्दा वढि भयो । काठमान्डौ महानगरमा मेट्रो रेलको समृद्धि कता आईपुग्यो हिलोमा चिप्लिएर हिड्न बाध्य जनतालाई त के थाहा हुनु महानगरकै वरिष्ट हामिहरुलाई पनि थाहा छैन । सायद सरकार जाबो मेट्रो भन्दा सिधै पुर्व पश्चिम, उत्तर दक्षिण मोनोरेल कै समृद्धि एकै पटक दिन भनेर लागि परेको छ कि? यो प्रश्नको उत्तर कि साला विद्याद्यर, भेना प्रधानमन्त्रि वा पशुपतिनाथ कसैलाई वा तिनैलाई थाहा होला ?
केपि ओली प्रधानमन्त्रि बनेपछि कुनै बेलाको प्रचण्डको जस्तो अलच्छिनाको सरकार नभई लच्छिनको सरकार भएर होला जाजरकोटमा झाडा पखलाको महामारी आएको छैन, सानो तिनो बाडि बाहेक कुनै बस्ति वगेको छैन । यसको मतलव समृद्धि हाम्रो वरीपरि नै छ । अब छिटै आईपुग्छ ।
त्रिशुलीमा तुईनको लाठो चुडिने डरले काँपी काँपी खोला वार पार गर्ने जनता रेडियो टिभिमा मोनोरेलको प्रोटोटाईप सुनेर÷देखेर मख्ख परेका छन् मानौ उ यहि मोनोरेलबाट केहि वर्ष पछि खोला पार गर्नेछ । हुम्ला जुम्लाका जनता सिटामोलको ट्याब्लेट यहि मोनोरेल नभएर नआएको मान्दै मोनोरेल चढेर सिटामोल र एसि लकको ट्याब्लेट आउने कुरामा विश्वस्त छन् । रौतहट का मसिहरहरु यहि मनोरेलले विहान बेलुका जोहो होला भनेर कुरिरहेका छन् । कैलालीका थारुहरु यहि मोनोरेल चडेर सामाजिक न्याय र समानता पाईन्छ भनेर खुसिले गदगद भएका छन् ।
भारत विरुद्ध चर्को आवाज गर्दै, रेल र जहाजका समृद्धिका सुन्दर सपना जनतालाई देखाउदै केपि ओली र प्रचण्डले आफ्नो रंगिन सपना पुरा गरिसकेका छन् । एक महिना अगाडि उहि अर्थमन्त्रि स्वयतपत्र जारी गर्दै देशको अर्थतन्त्र लथालिगं छ भन्छन्, त्यसको केहिपछि देशको आर्थिक अवस्था सन्तोषजनक छ भन्छन् । सरकारले जारी गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल जनसंख्याको २१.६ प्रतिशत अर्थात् करिव ६० लाख जनसंख्या निरपेक्ष गरिविको रेखामुनि छन् । यसको अर्थ ६० लाख जनसंख्या अहिले पनि दैनिक एक सय भन्दा कम खर्चमा आफ्नो जिवन भोग गरिरहेका छन् । हामी मध्यम वर्गिय भन्नेहरु एक सयलाई पैसा मान्दैनौ तर यहि भन्दा कममा दैनिक गुजारा गर्ने नेपाल सरकारको तथ्यांक अनुसार नै ६० लाख छ, वास्तविक गरिवि यो देशमा कति होला आफै अनुमान गर्न सकिन्छ । राईट ब्रदर्शले भन्दा पहिला हाम्रा पुर्खाले एअर बस चलाई सकेका थिए भन्ने देशको प्रधानमन्त्रिको देशको कुनै भुभागमा रजश्वला हुदाँ घरमा बस्न नपाई गोठमा चेलीहरुले प्राण त्याग गरिरहेका छन् । न्यू अर्क टाईम्स जस्ता विख्यात पत्रिकाले कुप्रथाको ब्यानर न्यूज बनाउदा सरकार उदासिन देखिन्छ । यस्ता कुप्रथाहरुको विरुद्ध का कार्यक्रम गर्न सरकार संग बजेट अभाव छ तर मोनोरेल चलाउन सरकार संग बजेटको कमि हुदैन ।
घाम लाग्दा धुलोले भरिने, पानी पर्दा हिलोमा परिने शहरका जनसंख्या यहि समस्याले ग्रस्त छन् । विकासको नाममा भत्किएका सडकहरु विगत दुई बर्ष देखि भत्किएका नै छन् । यो प्रदुषणले कति जनता रोगि भए होला त्यो तथ्यांक पाउन गाहो छ । तर दैनिक रुपमा सवैजना प्रताडित नै छन् । सडक विग्रिएकै कारण सैयौ सडक दुर्घटना भएका छन्, हजारौको ज्यान गएको छ । त्यसकोलागि विग्रिएको सडका मर्मत गर्न बजेट छैन । बजेट भएपनि कसैलाई मतलव नै छैन । सरकारका कुनै कुनै मन्त्रिहरु हिन्दि चलचित्र नायकमा झै सडकमा उत्रिन्छन् । काम के गर्छन् तर नतिजा सुन्य नै रहन्छ ।
नेपालको गरिवी र धनि विचको फरक मापन गर्ने सुचांक गिनि कोफिसेन्ट ३२.८ छ । यसले नेपालमा गरिव र धनि वीच गहिरो खाडल रहेको कुरा देखाउदछ । सरकार समाजवाद उन्मुख अर्थतन्त्र मा जाने भन्छ तर पुँजीबाद र समाजबादको दोवाटोमा अलमलमा परेको छ । निति शिद्धान्त एकातिर छ चन्दादाता ब्यापारी कार्यकर्ता अर्को तर्फ छ । सरकार यहि भुमरिमा फसेको छ । न दायाँ गर्न सक्छ न बाँया । यहि भुमरिको कारण देशको एकमात्र पुँजी बजारको हालत बेहाल छ । नेप्से ओरालोकै बाटोमा रहेको छ । सरकारले सोचेको छ, रेल जहाज, भौतिक पुर्वाधार निर्माण पछि त देश समृद्धि तिर गई हाल्छ । जनता खुसि भइहाल्छन् । तर सोच्नु पर्ने कुरा के छ भने विश्वको सवैभन्दा उच्चतम विकास भएको देश अमेरिकाको गिनि कोफिसेन्ट ४०.८ रहेको छ जुन नेपालको भन्दा बढी हो । विश्व मानव विकास सुचांकमा नेपाल १४४ औं स्थानमा रहेको छ भने नेपालको जनता १५६ देश मध्य १०१औ खुसि राष्ट्रमा पर्दछ । कुनै पनि देश विकशित हुदैमा, अर्थतन्त्रको आकार बढ्दैमा, प्रति ब्यक्ति आय धेरै हुदैमा जनता खुसि नै हुन्छन् भन्ने हुदैन । सिमित जनता खुसि पार्नु भन्दा पनि सम्पूर्ण जनता खुसि हुने गरि सरकारले निति निर्माण गर्न आवश्यक छ । त्यो भनेको आयको समानुपातिक विवरण नै हो । सरकारले काठमान्डौ मात्र होईन कर्णालि हेर्न आवश्यक छ ।
यो लेखको आसय यो होईन कि हामीलाई पुर्वाधार को आवश्यकता छैन । पुर्वाधार भनेको आर्थिक समृद्धिको मेरुदण्ड हो । संसार कहाँ बाट कहाँ पुगि सकेको छ हाम्रो लागि एउटा रेलको ट्राक हाल्ने कि नहाल्ने, कोसिमा जहाज चलाउने कि नचलाउने भनि विवाद गर्ने विषय नै होईन । पुर्व पश्चिम, उत्तर दक्षिण, पोखरा लुम्बिनि सवै रुटमा रेल चाहिन्छ । पानी जहाज चलाउनु पर्छ तर त्यो भन्दा पहिला जनताको आधारभुत आवश्यकता पुरा गर्नु पर्दछ । जनता एक रुपैयाको सिटामोल नपाएर ज्यान गुमाईरहेका छन् स्वच्छ खानेपानी को अभावमा दिनभरि पानी बोक्न बाध्य छन्, खोला वारपार गर्दा तुईन चुडिने डरमा बसिरहेका छन् अनि हामि रेल समृद्धिको मात्र कुरा गर्छौ । मानौ यो रेलको ट्रयाक ले नेपालको जनताको सबै दुख सोहोरेर लैजान्छ । सानो मेहनत, खर्च बाट जनताको दैनिकिमा आमुल परिवर्तन आउने विकासलाई बेवास्ता गर्दै सामान्य जनताको चासो नै नभएको मेगा प्रोजेक्टलाई राष्ट्रिय गौरवको आयोजना नामाकरण गर्छौ ।
पानी जहाज चलाउनु भन्दा पहिला सफा बागमतिमा डुंगा चलाए पनि थोरै समृद्धि त आउथ्यो होला । मेट्रो रेल, मोनो रेल, फास्ट ट्रयाक, सुरुगंमार्ग भन्दा पहिला भएका मार्गहरु नै हिलो, धुलो खाल्टो रहित बनाऔं न । यसो गर्दा थोरै तर स्वस्थ समृद्धि आउथ्यो कि ? राजनैतिक पहुँचका भरमा बैदेशिक स्वस्थ उपचारको लागि सहयोग दिन भन्दा गरिविको रेखामुनि रहेकाहरुलाई स्वस्थचौकी सम्म पुराउदा संख्यात्मक रुपमा केहि धेरै जनताको स्वास्थमा समृद्धि आउथ्यो कि ? नेपाली जनतालाई खुसि पार्नको लागि सरकारले देखाएको जस्तो ठुला कुरा गर्नै पर्दैन । साना साना कुरामा खुसि हुने समृद्धि देख्ने जनतालाई सरकारले त्यति ठूला ठूला सपनाको भारिले नकिचिदिए हुने । विकास र समृद्धिको वहाव बर्षातको खहरे झै नआएपनि शितको थोपा जस्तै आओस् तर आजै आओस अहिले नै आओस्, कर्णाली, मुगु, हुम्ला, जुम्ला देखि तराईका मुसहर देखि कैलालीका थारुहरुले महसुस गर्ने गरि आओस् ।

birodhji@gmail.com, Twitter: @birodhji

प्रकाशित मिति २०७५-३-१८

फेसबुकबाट तपाईको प्रतिक्रिया