आश्वासनका डम्फु बजाएर दलहरु घरदैलोमा
भुपेन्द्र बहादुर थापा (माधब)
आउँदो २०७९ वैशाख ३० गते स्थानिय निर्वाचन हुंदैछ आज देश सम्पुर्ण रूपमा निर्वाचनमा होमिएको छ । एकाध पार्टीहरु वाहेक सबैजसो पार्टीहरुले स्थानिय निर्वाचनमा भाग लिएका छन् । हिजोआज हाम्रा गाउँ–घर, नगर, टोल टोलहरुमा आ–आफ्ना पार्टीका झण्डा, ब्यानर, पर्चा र पम्पेल्ट हात–हातमा आ–आफ्ना प्रतिवद्धतापत्र बोकेर उमेदवारलाई अगाडी लगाएर मतदाताहरुलाई प्रभावमा कसरी पार्न सकिन्छ भन्दै गीत, संगित नृत्य, कलासंगै नाट्यकलाहरु समेत देखाउदै घर–दैलोमा मत माग्न आउन थालेका छन् । दिनहुँ जसो हाम्रा गाउँ–घर, सहर र नगरहरुमा वाक्लै चहल पहल वढन थालेको छ । चिया पसल, चौताराहरुमा भिड लाग्न थालेको छ । आजकल जताततै ठूलै तामझामहरु देख्न पाईन्छ ।
आज भन्दा करिव ५ वर्ष अगाडी पनि यीनै विभिन्न तामझाम नदेखेको होइन । हामीले सबै भोगेर, देखेरै आएका होऔ । हिजो पनि हाम्रो अमुल्य मत लिन हामीलाई सपनाको स्वर्ग नदेखाएका होइन । आज फेरी त्यही सपनाको स्वर्ग देखाउन व्यापारिक मानशिकताबाट ग्रसित विभिन्न पार्टीको खोल ओढेर तपाई हाम्रो घर दैलोमा आउँदै छन् । अब तपाई हामी सचेत हुनै पर्दछ । अब त हामीले चिनौं, जानौं र बुझौं । तपाई हामीले हतार–हतारमा गलत निर्णय गर्ने र फुर्सदमा पछुताएर वस्ने परम्परागत व्यवहारलाई वदलौं । हिजो तपाई हाम्रो सामु गरेका प्रतिवद्धता र आश्वासनका ठेलीहरु कता पुगे ? विकास अनि समृद्धिका सपनाको खेतीमा के फल्यो ? हामीले के पायौं ? हामीले के गुमायौं ? हिजो हामीले लगाएको खेतीले कसको भकारी भरियो ? विकास कहाँ भयो ? समृद्धि कसले पायो ? रोजगारी कस-कसले पाए ? शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र शुसासनमा के परिवर्तन भयो ? हिजो हामी सामु गरेका प्रतिवद्धताहरु मध्ये कार्यनीतिक र रणनीतिक योजनाहरु कहाँ र कति सफल भए ? यसको उत्तर हिजो हामीले चुनेर पठाएका हाम्रा प्रतिनिधीहरुसंग खोज्नु आम मतदाताहरुको कर्तव्य हो । ती तमाम प्रश्नको उत्तर पाउनु आम नागरिकको अधिकार हो । यो तमाम प्रश्नको उत्तर खोज्ने अधिकारवाट हामी वन्चित हुनुहुदैन । साथै ती सबै प्रश्नको उत्तर दिनु सम्पूर्ण प्रतिनीधिहरुको दाहित्व हो ।
हामी संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो स्थानिय निवार्चको समापनसंगै दोस्रो स्थानिय निर्वाचनको संघार आईपुगेका छौं । फेरी पनि हाम्रो अमुल्य मतको अनावश्यकता सबै पार्टी र तिनका उमेदवारहरुलाई खाँचो परेको छ । नयाँ-पुराना अनुहारहरु तपाई हाम्रो सामु मत माग्न आउन थालेका छन् । विभिन्न महत्वकांक्षी आश्वासनका डम्फु वजाएर तपाई हामीलाई प्रभावित पार्ने एवं स्थानिय सासन सत्तामा विराजमान हुन साम, दाम, दण्ड, भेद लगाएर जुनसुकै हत्कण्डा अपनाउन पनि पछि नपर्ने अपराधिक मानशिकताबाट ग्रसित भएका उमेदवारहरु पनि आउन सक्दछन् । खबरदारः त्यस्ता उमेदवारबाट गाउँघर, नगर र टोलको विकास, सामाजिक सुरक्षा, एवं सुसासनको प्रत्याभुति कुनै पनि हालतमा हुन सक्दैन । यी यावत् समस्याको विचारहरुबाट हाम्रो भविष्यको निर्माता कुशल, सक्षम र इमान्दार नेतृत्व चुन्ने चुनौतिहरु हाम्रा सामु खडा छ । तपाई हामिले भविष्यको सपना देख्दै गर्दा वर्तमानको जगमा उभिएर मात्र सम्भव हुनेछ । वर्तमान वास्तविक यथार्थ हो ।
हामीले चुन्ने प्रतिनीधिको राजनैतिक पृष्टभूमी के हो ? उ सामाजिक उत्तर दाहित्वप्रति वफादार छ कि छैन ? उ हाम्रो दुःख र सुखको साथी हुन सक्छ कि सक्दैन ? उ स्वच्छ, इमान्दार र कुशल व्यक्तित्व हो कि होइन ? यी माथी उठेका सबै प्रश्नको जवाफ हामीले अझै सचेतन प्रयासबाट खोज्नु पर्दछ । यी र यस्ता विषयमा हामी चुक्न पुग्यौं भने हाम्रो भविष्य फेरी अर्को अन्धकार तिर धकेलिने छ । हिजो तपाई हाम्रो कमजोरीका कारण आज देशमा संस्थागत भ्रष्टचार मौलाएको छ । वेरोजगारीले देश आक्रान्त वनेको छ । हजारौं युवाहरु दैनिक रूपमा विदेश पलाएन हुन वाध्य भएका छन् । महंगीले आम जनताका जनजीवन अस्तव्यस्त हुन पुगेको छ । सामाजिक सुरक्षा फितलो हुदा समाज भित्र अपराधका घटनाहरु ब्यापक रूपमा बढेर गएको छ । सुसासन कमजोर हुदै गएको छ । यी सबै खाले समस्याको हल कहाँ छ ? यसको हल हामी भित्रबाट खोज्नु पर्दछ । त्यसको लागि हामीले रोज्ने नेतृत्व र उसको आचरणसंग सम्वधित हुने गर्दछ । त्यसैले यो स्थानिय निर्वाचन केन्द्रिय सासन सत्ताको जग पनि हो । जग वलियो भयो भने घर वलियो हुन्छ । घर वलियो भयो भने परिवार वलियो हुनेछौं । हिजो हामीले गरेको कमजोरीका कारण आज यो प्रतिफल भोग्न वाध्य छौं । आज वेरोजगारी समस्या, शिक्षा र स्वास्थ्यमा व्यापक व्यापारीकरण, विकास र समृद्धिमा ठेकेदारीकरण, व्यापार व्यवसायमा विचौलियाकरण, कृषि र उत्पादनलाई मासेर पल्टीङ्गीकरण संस्कार र संकृतिमा विकृतिकरण हुंदा आज समाजमा अपराधका सृंखलाहरु गाडिएर जान थालेका छन् ।
त्यस्ता विकृति र विसंगतिको सिकार आम जनता हुन परेको छ । सिङ्गो देशको अर्थतन्त्र धरासाय भएको छ । राज्यका सबै निकायहरु भ्रष्टचारको सिकार हुँदा जनताको मौलिक हक अधिकारहरु कुण्ठीत हुन पुगेको छ । जनताका मौलिक अधिकार गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र राजगारी नारामा मात्र सिमित हुन पुगेका छन् । त्यसकाकारण भोक, रोग र शोकमा आम गरि खाने वर्ग मारमा पर्न गएको छ । यी सबै समस्याको हल खोज्न के सम्भव छनै त ? अवश्य छ । त्यसका लागी हामीले बुझ्नुपर्ने र लागु गर्नुपर्ने कुराहरुमा ध्यान दियौं भने परिवर्तन सम्भव छ । पहिलो कुरा हामीले आफुबाट वदल्न जरुरी छ । लोभ, लालचबाट मुक्त हुनपर्छ । को कस्तो व्यक्ती हो ? चिन्नु र जान्नु पर्छ । जस्तै कुनै पनि चित्र हेरेर मात्र सुन्दरताको वयान गर्नु हुँदैन । चित्र एउटा रूपतत्व मात्र हो । हामीले चित्र भित्रको गहिराईमा पुगेर सारतत्वलाई बुझ्नु पर्दछ । अनि मात्र हामीले चित्र भित्रको चरित्र बुझ्न सक्दछौ ।
त्यसैले यस आउँदो स्थानिय निर्वाचनमा हामीले सबै उमेदवारहरुको चित्र र चरित्र दुवै केलाएर मात्र आफ्नो अमूल्य मत अनि स्वच्छ इमान्दार र कुशल नेतृत्वलाई दान गरौं । पर्खाल भत्काएर अगाडी बढेर जान सके मात्र विकास र समृद्धि सम्भव छ । परिवर्तन अवश्य पनि सम्भव छ । सत्यको पक्षमा उभिने साहस भयो भने ठुला ठुला वादसाहरुलाई त सिहासनबाट लतारेका उदारणहरु तपाई हामी सामु छर्लङ्ग छ । २४० वर्ष सामन्ती सत्ता त जनताको अगाडी टिकेन । यो त जनताको सासन हो । अवश्य पनि वदलिन्छ । मात्र इमान्दार कोशिस गर्ने केहि कुशल नेतृत्व भए मात्र पुग्दछ । रात पछि बिहान अवश्य आउँछ । धर्य मात्र गर्न सक्नुपर्छ । पर्खेर बसे भेटिन्छ । हिंडेर गएपनि पुगिन्छ । तर पाईला अगाडी बढाउने जमर्काे गर्न सक्नुपर्दछ । गन्तव्य सुरक्षित छ । हजार माईलको यात्रा सुरु त एक कदमबाट नै हुनेछ । परिवर्तन अवश्य पनि हाम्रै पालामा सम्भव छ । जय राष्ट्रवाद
प्रकासित २०७९–१–२२
फेसबुकबाट तपाईको प्रतिक्रिया