इतिहासकार तथा संस्कृतिविद् प्रा.डा.चुन्दा बज्राचार्य –एक परिचय

– स्वयम्भू शाक्य

प्रा.डा. चुुन्दा बज्राचार्य मूलत नेपालभाषा क्षेत्रका एक अग्रणी र यशस्वी प्रतिभाका विदुषी हुनुहुन्छ । उहाँको जन्म वि.सं. २०१० साल माघ १० गते भीमाष्टमीका दिन काठमाडौंको मरु, ख्यःक्यबमा भएको थियो । पिता वेदानन्द बज्राचार्य र आमा ज्वालादेवी बज्राचार्यको कोखबाट ९ जना सन्तान (६ जना छोरा र ३ जना छोरी) जायजन्म भएकोमा आठौं सन्तानको रूपमा जन्मेकी बौद्धिक पुनर्जागरणका उभियन्ता प्रा.डा. चुन्दा बज्राचार्यका हजुरबुवा स्व. रत्नमानन्द बज्राचार्य राणाकालीन समयमा भीमशम्शेरका आधिकारिक वैद्य थिए । आफ्नै घरसंगै हाल शान्ति निकुञ्ज मा.वि.को कम्पाउण्डको केही भाग तत्कालीन राणा शासकले बकस दिँदा समेत आफुलाई बस्न घर–जग्गा पुगेको भनी स्वाभिमानीको परिचय दिनु भएको थियो । स–परिवार आयुर्वेदिक विद्यामा निपुण हुनुका साथै तन्त्रशास्त्र र चिकित्सा विज्ञानमा समेत रुचि राख्ने भएकोले पिता स्व. वेदानन्द बज्राचार्यले काठमाडौंको मरु टोलमा गुजेश्वरी मेडिकल हल खोलि नेपालको पहिलो औषधी पसल (आयुर्वेदिक र एलोपेथिक)को शुभारम्भ गर्नु भएको थियो ।
बौद्धधर्मका अनुयायी एवं सफल अन्वेषिका प्रा.डा.चुन्दा बज्राचार्यलाई घर परिवारले सेन्टमेरिज स्कूलमा भर्ना गर्ने चाहना भएता पनि पछि घरसंगैको स्कूल शान्ति निकुञ्ज मा.वि.मा भर्ना गरी सोही स्कूलबाट वि.सं. २०२८ सालमा नेपालभाषा विषय लिई एस.एल.सी. उत्तीर्ण गर्नु भएको थियो । वि.सं. २०३६ सालमा एम. ए. अर्थशास्त्र, वि.सं. २०३९ सालमा एम.ए. नेपालभाषामा उत्तीर्ण गरी “जितामित्र मल्लया धरःपौ व उकिया भाषिक विशेषता” शोधपत्र लेख्नु भएको थियो । वि.सं. २०४९ सालमा विद्यावारिधि गर्दा आफ्नै मातृभाषा नेपालभाषाको माध्यमबाट अध्ययन र अनुसन्धान गरी भाषा विज्ञानमा विद्यावारिधि गर्ने सोच भएता पनि पछि नाटक विधामा “नेपालभाषाया आधुनिक नाटकया प्रवृति व प्रवाह” शोधपत्र लेख्नु भई नेपालभाषाको माध्यमबाट नेपालको पहिलो विद्यावारिधि गर्ने प्रथम महिलाको रूपमा परिचित भएकी छिन् ।
इतिहास क्षेत्रमा एक अब्वल दर्जामा गनिन पुगेकी नेपालभाषा र नेवारी संस्कृतिको उत्थान र विकासका लागि विभिन्न विधामा अध्ययन र अनुसन्धान गर्नु भएकी इतिहासकार, निवन्धकार, समालोचक तथा साहित्यकार प्रा. डा. चुन्दा बज्राचार्यको शिक्षा क्षेत्रको प्रेरणा आमा ज्वालादेवी बज्राचार्य र साहित्यप्रतिको प्रेरणा दाजु ई. उदयानन्द बज्राचार्यबाट भएको थियो ।
नेपालको संविधान निर्माण गर्ने क्रममा आदिवासी जनजाति महिलाहरूको हक र अधिकारलाई सुनिचित गर्दै आफ्नै मातृभाषाबाट पठन पाठन गर्न सक्ने प्रावधान संविधानमा राख्नु पर्ने सुझाव दिई उल्लेखित प्रावधानहरू नेपालको संविधानमा समावेश गर्न सफल भएकी छिन् । महिलाहरूको सशक्तिकरण र चेतना विना देशको विकास असम्भव हुने भएकोले महिलाहरूका उत्थानका निम्ति नेपालभाषा मंकाः खलःको स्थापनामा विशेष भूमिका खेल्नुका साथै नेपालभाषा मिखा खलःको सोचलाई अगाडी सारी महासचिवको हैसियतले नेवार महिलाहरूको पनि राज्य सत्तामा नेतृत्व लिनका निम्ति आह्वान गर्न भएको थियो ।
शैक्षिक क्षेत्रमा भएको राजनीतिक बेथितिलाई सदाका निम्ति अन्त गर्नुपर्छ भनी मान्यता राख्ने शिक्षाविद् प्रा. डा. चुन्दा बज्राचार्यलाई प्राध्यापक पदबाट पाखा लगाउन त्रिभुवन विश्व विद्यालयमा भएको राजनीतिका विरुद्ध आयोगमा उजुरी गरी योग्यताका आधारमा प्राध्यापक पद पाउनु भएको थियो । आफ्नै मातृभाषाबाट अध्ययन र अध्यापन गर्ने हो भने विद्यार्थीहरूको वृत्ति विकास चाँडै हुने भएकोले नेपालभाषाको माध्यमबाट अध्ययन र अध्यापन गर्न एउटा स्कूलको आवश्यकतालाई महशुस गरी वि.सं. २०४८ सालमा जगत सुन्दर ब्वनेकुथि (प्राथमिक विद्यालय हाल माध्यमिक विद्यालय) संचालन गरी शैक्षिक क्षेत्रमा समेत अतुलनीय योगदान दिनु भएको छ ।
नेपालभाषा साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने भाषिक अभियन्ता, महिला मानवाधिकारकर्मी, शिक्षा तथा संस्कृतिविद् प्रा.डा. चुन्दा बज्राचार्यले नेपालको संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय भाषाको माध्यमबाट पठन–पाठन गराउने कार्यले भाषा र संस्कृतिको संरक्षण हुने भएकोले नेपालभाषा विषय अन्तर्गत पाठ्य पुस्तक निर्माण समिति लगायत काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि नेपालभाषा लगायत नेपाली तथा अंग्रेजी भाषामासमेत पाठ्यक्रम निर्माण गर्नु भएको थियो । नेपालभाषा मंकाः खलः, नेपालभाषा मिसा खलः, जगत सुन्दर ब्वनेकुथि, नेपाल इन्डिजिनियस् ओमन नेटवर्क, नेवाः देय् दबू, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, साउथ एशिया इण्डिजिनिस् ओमन फोरम, साउथ एशिया फोरम फर ह्यूमन राइटस्, नेपालभाषा एकेदेमि, नेपाल विश्व विद्यालय महिला संघ, नेपाल लिपि गुथि, नेपाल अध्ययन मण्डल र टाइम्स इन्टरनेशनल स्कूल जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा आवद्ध भएका छिन् भने वि.सं. २०६२ सालमा गठित बृहत् राष्ट्रिय लोक गणतन्त्र मोर्चाको अध्यक्ष मण्डलको सदस्य, विभूषण समितिको सदस्य, बहुभाषा शिक्षा निर्देशन समिति, प्रतिभा समाज, युगकवि सिद्धिचरण प्रतिष्ठान, धर्मोदय सभा लगायत राज्यको पुनःसंरचना, संविधान सभा र महिला विषयमा नेपालको विभिन्न जिल्लाहरूमा गएर राष्ट्रिय स्तरमा प्रशिक्षण समेत दिएकी छिन् ।
आफ्नो जिन्दगीलाई नै सिर्जनात्मक तथा अनुसन्धान कार्यहरूमा लगाएर भाषिक अगुवाईको रूपमा महिलाहरूको हक हित र अधिकारका लागि निरन्तर संघर्षशील भई आपूmलाई समर्पित गर्ने प्रा.डा. चुन्दा बज्राचार्यले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा गोष्ठीहरूमा समेत आफ्नो अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत गरिसकेकी छिन् भने समालोचक रूपमा थुप्रै कार्यपत्रहरूमा टिप्पणी एवं समालोचनात्मक अभिव्यक्तिहरू दिइसकेकी छिन् । नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संघिय गणतन्त्र नेपालको स्थापना गर्न विशेष योगदान दिनुभएका लेखक, पत्रकार, मानवअधिकारकर्मी तथा नागरीक समाजका नेता पद्मरत्न तुलाधरको अनुरोधमा वि.सं. २०४४ सालमा नेपालभाषा मंकाः खलःको पहिलो संस्थापक महिला सदस्य भएर भाषिक आन्दोलनमा लागेकी यिनी वि.सं. २०४५ सालमै नेपालभाषा मिसा खलःं स्थापना गरेर महिला सशक्तीकरणका लागि महिलाहरूको हक, हित र अधिकारको स्थायित्वका लागि संघर्ष गरी वि.सं. २०६२ सालमा लोकतान्त्रिक नेवाः मिसा संघर्ष समिति बनाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा सक्रिय सहभागी भई सेवा पु¥याउनु भएको थियो ।
आफ्नो मातृभाषा नेपालभाषाका विषयमा पनि पढ्न पाउनु पर्छ भनि भारतको कलकत्ता विश्व– विद्यालयमा आन्दोलन गरी पाठ्यसामग्रीको रूपमा ने.सं. १०४५ मा ‘बुद्धधर्म व नेपालभाषा’ नामक प्रकाशित कृति समावेश गर्न अनुरोध गर्ने पहिलो नेपाली धर्मादित्य धर्माचार्य, प्रायशः दरबार भित्रका महिलाहरूले मात्र साहित्य सृजना गर्ने समयमा पनि सर्वसाधारण महिलाबाट साहित्य सृजना गर्ने पहिलो कथाकार मोतिलक्ष्मी उपासिका, पाँच दशक अगाडी नै नारी प्रतिको अन्याय र अत्याचारप्रति बिद्रोहको कविता लेख्ने क्रान्तिकारी कवि नारायणदेवी श्रेष्ठ, रामायणलाई नेपालभाषामा अनुवाद गर्ने नेपालभाषाका चार स्तम्भमध्ये एक महाकवि सिद्धिदास महाजु (सिद्धिदास अमात्य) र स्वतन्त्र तथा स्वछन्द लेखन बिम्बहरूको प्रयोग गर्ने नेपालभाषा साहित्यका कविकेशरी (वि.सं. २०१३ सालमा राजा महेन्द्रले कविकेशरी पदवी दिएको थिए) तथा साहित्य शिरोमणि (च्वसापासाबाट साहित्य शिरोमणि पदवी दिएको थियो) प्रजातन्त्रका सेनानी चित्तधर हृदय जस्ता सुप्रसिद्ध नेपालभाषाका साहित्यकारहरू प्रति विशेषता संस्कृतिविद् प्रा. डा. चुन्दा वज्राचार्यको अगाघ आस्था रहेको देखिन्छ । त्यस्तै आर्थर मिलर, इब्सेन र बोउचर जस्ता विश्वप्रसिद्ध विदेशी साहित्यकारहरूको साहित्यप्रति विशेष झुकाब रहेकी एउटा चेतनशील महिला भएकी नाताले “नसा–त्वंसा रितिथिति झीगु जातिय विभाजन” नामक पहिलो सांस्कृतिक वस्तुपरक निबन्ध (काठमाडौं क्याम्पसको ग्वय्स्वां पत्रिकाको पहिलो अंकमा प्रकाशित) लेखी चिरपरिचित हुनु भएको थियो । उहाँले १६ वटा अन्वेषण कृतिहरू लगायत स्वदेश तथा विदेशमा थुप्रै पत्र–पत्रिकाहरूमा बौद्धिकताका परिचयात्मकको रूपमा सारगर्भित भाषा विज्ञान, संस्कृति, इतिहास, नृशास्त्र, समालोचना तथा समिक्षात्मक लेख तथा रचनाहरू प्रकाशित भएका छन् । मल्लकालया छु संस्कृति (ने.सं. ११०५), मल्लकालीन छुं घटनावली (ने.सं. ११०७), मोतिलक्ष्मी उपासिकाया जीवनी (ने.सं. ११०८), रणजित मल्लया विवाहया लागि भम्चा काःवंगु धरःपौ (ने.सं. ११०९) जितामित्र मल्लकालीन धरःपौ (वि.सं. २०५३), नेपालभाषाया आधुनिक नाटकय् मिसा समस्या (ने.सं. १११८), भिक्षु सुदर्शनया नाटक छगू विवेचना (ने.सं. १११८), नेवाः तजिलजिइ नखः–चखः (ने.सं. ११२१), नेवाः तजिलजिइ च्वखँ मुना (ने.सं. ११२१), थक्वाः देशया आदिनारायण (ने.सं. ११२५), समालोचना च्वसुमुना (ने.सं. ११२९), नेपालभाषाया नाटक साहित्यया इतिहास ने.सं. ११०८ दँतक छगू परिचय (ने.सं. ११३२) र नेपाल मण्डल व नेवाः (ने.सं. ११३२) कुमारी सर्वोच्चमा (वि.सं. २०६६), नेपालभाषाका पूर्णाङ्की नाटकको विवेचना (वि.सं. २०६८), नेवाः सांस्कृतिक चाडपर्व (वि.सं. २०७२) र भूपतीन्द्र मल्ल पनातिया ख्वहो क्वाठया धरोत (वि.सं. २०७८) समेत प्रकाशित भएका छन् भने हालसम्म अनुसन्धानकैरूपमा रहेका भुपेन्द्र मल्लको धरःपौ, न्यातपोल देवल निर्माण धरःपौ, नेपाल राष्ट्रिय अभिलेखालयमा भएका धरःपौको सूची, भुपेन्द्र मल्लको बनेपा क्याठ निर्माण धरःपौ, भुपेन्द्र मल्लको गां देश भ्रमणको धरःपौ, रणजित मल्लको विवाहको धरःपौ, मल्लकालिन एतिहासिक सामग्री संकलन भाग ४ लगायत विभिन्न वंशावली, टिपोट, घटनावली र धरःपौ जस्ता अनुसन्धानात्मक मल्लकालीन कीर्तिहरू इतिहासकै गर्भमा रहेका छन् ।
मल्लकालीन राजाहरूको ऐतिहासिक सामाग्री धरःपौ (मल्लकालीन राजाहरूको कृयाकलापहरू) को विशेष अध्ययन र अनुसन्धान गरी उक्त ऐतिहासिक सामाग्रीहरूको संकलन, सम्पादन, अनुवाद र ब्याख्या गर्ने पहिलो विज्ञ प्रा.डा. चुन्दा बज्राचार्य संस्कृतिको अध्ययन र अनुसन्धानमा गुरु धनवज्र बज्राचार्य लगायत प्रा. डा. कमलप्रकाश मल्ल र मानवशास्त्री डोरबहादुर विष्टसंग धेरै विषयमा अनुसन्धानकर्ताको रूपमा सहकार्य गरेकी छिन् । थुप्रै प्राचीन इतिहासको अध्ययन, अनुसन्धान तथा लेखन कार्यमा सक्रिय भई राष्ट्रिय इतिहास निर्माण योजना अन्तर्गत मल्लकालीन ऐतिहासिक सामग्रीहरूको संकलन, सम्पादन, अनुवाद र व्याख्या गरी मल्लकालीन ऐतिहासको अभिलेख, नेवार जाति र तिनीहरूको संस्कृति, प्राचीन नेपालभाषा शब्दकोष निर्माण, आधुनिक नेपालभाषा शब्दकोष निर्माण, आदिवासी महिलाको स्थिति, नेवार संस्कार र चाडपर्वहरूसम्बन्धी अनुसन्धान, च्वसापासा टोयोटा फाउण्डेशन अन्तर्गत सहायक संकलक, नेपाल लिपिलाई देवनागरी लिपिमा र प्राचीन नेपालभाषालाई नेपालीमा अनुवाद गर्ने अनुवादक भई प्राचीन इतिहासको धरःपौमा विशेष उल्लेखनीय अध्ययन र अनुसन्धान गर्ने प्रथम महिलाका रूपमा रहेकी छिन् । त्यसैले आफ्ना गुरु स्व. धनवज्र बज्राचार्यको सम्झनामा गुरुप्रति नमन गरी “भूपतीन्द्र मल्ल पनातिया ख्वहो क्वाठया धरोत” नामक अमूल्य कृति अर्पित गरेको देखिन्छ ।
भनिन्छ, नेवार समुदायमा कुनै त्यस्तो मन्दिर, विहार वा धार्मिक कृयाकलापहरू छैन जसमा गुठीको संलग्नता नहोस् । ती सबै कामहरूमा सरकारको मात्र मुख ताक्न नपरोस् भन्ने उद्देश्यले गुठी स्वयम्ले आम्दानीको पर्याप्त व्यवस्था गरी परम्परालाई अटुटरूपमा संचालन गर्दै आइरहेका छन् । गाईजात्रा पर्वलाई विशेषतः हास्यव्यङ्ग्यको महत्वपूर्ण चाडको रूपमा पनि लिइन्छ । त्यसवेला काठमाडौंमा ३२ वटा टोल थिए । यो जात्रा राजा प्रताप मल्लको शासनकाल भन्दा धेरै पहिलेदेखि नै चल्दै आएतापनि राजा प्रताप मल्लको उर्दीपछि काठमाडौंमा विशेष गरी दरबारमा ध्वजासहित मृतकका परिवारको परिक्रमा गर्न थालियो । ती ३२ वटा टोलमध्ये दुई वटा टोलमा परम्परादेखि नै मृत्यु उत्सबमा व्यङ्ग्य गर्ने चलन थियो । यो व्यङ्ग्य गर्ने चलनलाई कठ र वाठ भनिन्थ्यो । यही चलन र परम्पराकारूपमा बिकसित भएको हो । भक्तपुरमा श्री निवासमल्लको पालादेखि नै वाठ (व्यङ्ग्य) गर्ने चलन थियो । उनीहरूका हरेक कुरा स्वीकार गर्नुपर्ने भएकोले वर्षको एक दिन व्यङ्ग्य गर्ने छुट दिइन्थ्यो भनी इतिहासकार प्रा.डा. चुन्दा बज्राचार्यको भनाई देखिन्छ ।
नेपाल चाडपर्वहरूको देश हो । तसर्थ नेपालका चाडपर्वहरू समाज जोड्ने सूत्रको रूपमा लिन सकिन्छ । कलुषित भावनालाई त्यागेर पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबूत बनाई मेलमिलापको भावनाले एक आपसमा आत्मीयता बढाउने पर्वको रूपमा चाडपर्वहरूको आफ्नै महत्व र विशेषता रहेको छ । सामाजिक मूल्य र मान्यताका साथ बैज्ञानिकता, स्वास्थ्यदायक, हावापानी, र वातावरण अनुकूल जीवन यापन गर्ने पद्धतिसँग सम्बन्धित भएकोले मानवस्वास्थ र वातावरणको दृष्टिकोणबाट पनि चाडपर्वको वेला सफा–सुग्घर गरी शरीरसमेत शुद्धीकरण गर्ने चलन छ । मूलत चाडपर्व सौरमान र चन्द्रमान गरी दुई प्रकारबाट गर्ने गरिन्छ । सौरमानको शुरुआत वैशाख महीनाबाट शुरू हुन्छ भने चन्द्रमान चैत्र शुक्ल प्रतिपदाबाट शुरू हुन्छ । तसर्थ हाम्रो धेरै जस्तो चाडपर्वहरू चन्द्रमानबाट शुरू हुने चलन छ ।
परम्परादेखि चल्दै आएको रीतिस्थितिलाई विभिन्न जाति तथा समुदायका मानिसहरूले विशेष दिन वा तिथिमितिमा आधारित भई विभिन्न देवी–देवताहरूको पूजा–आजा गरी भोज खाई नाचगान र रमाइलो गर्ने विशेष पर्वलाई हामीले चाडपर्व भन्दै आएका छौं । संस्कृतिविद् प्रा. डा. चुन्दा बज्राचार्यले नेपालभाषाबाट प्रकाशित आफ्नो मौलिक कृति “नेवाः सांस्कृतिक चाडपर्व” (वि.सं. २०७२ सालमा देवेन्द्रकुमार मल्लले नेपाली भाषामा अनुवाद गरी पुस्तक प्रकाशित) पुस्तकको गठांमुगल चतुर्दशी शीर्षकमा नेवार जातिले खेतीपातीको काम सकिने बित्तिकै गठांमुगल (गथांमुगः) अर्थात् घण्टाकर्ण चाड मनाइन्छ । गथांमुगःलाई त्रिपद संवर भैरव पनि भनिन्छ । किनकि नर्कटको तीनखुट्टा बनाई उभ्याउनु भनेको त्रिपद संवर भैरवको प्रतीक हो । गठांमुगल ठड्याउँदा अर्धनारिश्वरको रूपमा कतै एकातिर नारी र अर्कोतिर पुरुष लिङ्ग लेखेर टाँस्ने गरिन्छ । जसलाई सृष्टिको प्रतीकको रूपमा पनि हेर्ने गरिन्छ । कुनै गठांमुगल भैरव र कतै अजिमा पनि मान्ने गरिन्छ । क्षेत्रपालमा ठड्याउने गठांमुगललाई भैरव र छ्वासमा ठड्याउने गठांमुगललाई अजिमा मानिछ भनी उल्लेख गर्नुभएको छ भने “नागपञ्चमी” शीर्षक अन्तर्गत महामञ्जुश्रीले नेपाल खाल्डोको पानी बाहिर पठाउन ठाउँ ठाउँमा बास बसेका नागहरूमध्ये तक्षक नागराजालाई पुण्यतीर्थ वा गोकर्ण तीर्थमा बास गराएको थियो । तीनै तक्षक नागराजा एकदिन करुणामयको अष्टमी व्रत बसी पानीबाट बाहिर निस्केर घाम तापिरहेको वेला गरुडले देखेर उसलाई समाते । “म व्रत बसिरहेको छु मलाई छोडिदेऊ” भनी तक्षक नागराजाले धेरै बिन्तीभाब गर्दा पनि गरुड नमानेपछि नागले गरुडलाई बेस्करी बेरिदिएछ । त्यसपछि चल्नै नसक्ने गरी बेरेर गरुडलाई चार दिनसम्म पानीभित्रै राखिदियो । आपूm मुक्त हुन नसकेपछि गरुडले स्वर्गका देवताका मालिक नारायणलाई पुकार्न थाल्यो । आफ्नो वाहन गरुडलाई बेरेर राखेको देखेपछि नारायणले फुकाउने प्रयास गरेपनि नछोडेकोले नारायणले आफ्नो सुदर्शन चक्रद्वारा नागलाई छेडन गर्न खोजे । यो देखेर नागराजाले पनि आपूm व्रत बसेको करुणामयलाई पुकारेकोले करुणामय सिंह चढेर पुण्यतीर्थ गोकर्ण आइपुगे । यसरी सबैजना एउटै क्रममा लीन हुनपुगे । लीन हुँदा सबैभन्दा मुनि तक्षक नागराजा, त्यसमाथि सिंह, सिंहमाथि गरुड, गरुडमाथि नारायण र नारायणमाथि करुणामय बसे । यसरी लोकेश्वर (करुणामय) र नारायण दुबै भएकोले बौद्धमार्गीहरू यसलाई हरि हरि हरि हरिवाहन लोकेश्वर भनी पूजा गर्छन् । यो स्थान चाँगुमा परेकोले यसलाई चाँगुनारायण पनि भन्न थाले भनी नागपञ्चमी पर्वमा स–विस्तार वर्णन गर्नु भएको छ ।
नेपाल राष्ट्रिय अभिलेखालय स्थित हस्तलिखित नम्बर (ल.नं.) १६८९ को धरःपौ प्रचलित नेपाल लिपिले लेखेको “धर्म र विविध विषय” शीर्षक दिएर राखेको उक्त ग्रन्थ बृहत् संक्षिप्त सूची पत्रमा नम्वर १३१ को “धरःपौ” (बही) को आकारको ५१ पृष्ठ भएको पाको कागजमा लम्बाई २३.२ ईन्च र चौडाई १५.३ ईन्चको प्रत्येक पत्रमा ७÷७ लाइनमा प्रत्येक लाइनमा सालाखाला ३१ वटा अक्षर कागजको दुबैतिर लेखेको ग्रन्थ श्री श्री जय भूपतीन्द्र मल्लले पनौतीमा ख्वहो क्वाठ निर्माण गर्दाको धरःपौ थियो भनी उल्लेख गर्नुभएको छ । “क्वाठ” नयाँ शब्द होइन । यो क्वाठ शब्द इतिहास अध्ययन गर्ने पुराना पुराना सामग्रीहरू गोपाल वंशावली अभिलेख, ताडपत्र, धरःपौ, ठ्यासपूm आदि सामग्रीहरूमा उल्लेख भएको पाइन्छ । पुराना ऐतिहासिक सामग्रीहरू सबै हस्तलिखित सामग्री भएकोले एउटै शब्दको रूप पनि एक अर्कामा फरक देखा परेको छ । त्यसैले क्वाठ शब्द कतै क्वाथ छ भने कतै क्वाट, क्वट आदि पनि देखा पर्दछ । क्वाठ शब्द संस्कृतको कोटबाट आएको हो । संस्कृतमा कोटको अर्थ किल्ला हो । किल्ला भन्नाले सुरक्षित गर्ने ठाउँ जनाउँथ्यो । जुन अर्थ मल्लकालको क्वाठ शब्द पनि राज्य रक्षा गर्नका निमित्त ठाउँ ठाउँमा बनाई राखेको हुन्थ्यो भनी इतिहासकार प्रा.डा. चुन्दा बज्राचार्यले मल्लकालिन ऐतिहासिक पक्षलाई उजागर गरेको देखिन्छ ।
जिउँदो देवता कुमारीका विषयमा महिला अधिकारकर्मीले व्यक्तिगत स्वतन्त्रताको हनन्का विषयलाई लिएर दायर भएको रीट निवेदनमा सम्मानित सर्वोच्च अदालतबाट नेपाल सरकारको
संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयको सह–सचिवको संयोजकत्वमा रीट निवेदक तथा प्रत्यार्थी एवं संस्कृतिविद् समेत रहने गरी ४ सदस्यीय सुझाव समिति गठन गरी ३ महीनाभित्र कुमारीहरूको अध्ययन गरी सुझाव पेश गर्ने आदेश भएकोमा ८ महीना पछि मात्र सुझाव पेश भएको थियो । संस्कृतिविद् प्रा.डा. चुन्दा बज्राचार्यले कुमारी सांस्कृतिक परम्पराको आत्मसात् गर्दै प्रत्यार्थीको रूपमा प्रतिवाद गरेको र सर्वोच्च अदालतले गठन गरेको कुमारीसम्बन्धी समितिको व्यक्तिगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त सम्पूर्ण विवरणसहित कुमारीसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने अध्येताहरूका लागि एउटा दस्तावेजको रूपमा “कुमारी सर्वोच्च” पुस्तकको संकलन र सम्पादन गर्नुभएको थियो ।
विद्यालयदेखि विद्यावारिधिसम्म नेपालभाषा विषय लिएर अध्ययन र अनुसन्धान गर्ने पहिलो महिलाका रूपमा देखा पर्ने नाटककार प्रा.डा. चुन्दा बज्राचार्यले “नेपालभाषाका पूर्णाङ्की नाटकको विवेचना” नामक पुस्तकमा नेपालभाषाका नाटकबारे अध्ययन अनुसन्धान गरी ऐतिहासिक पृष्ठभूमिदेखि आधुनिक नाटकसम्मको समीक्षा गर्नुभएको छ । गोपाल वंशावलीका अनुसार विभिन्न नाटकहरू आफ्नै सांस्कृतिक परम्परानुसार विकास भएको देखिन्छ । ने.सं. ५०० सालको “मानव न्याय शास्त्र” पुस्तकमा “निचिनि” शब्द प्रयोग गरेर पात्र परिचयको उल्लेख गरिएको छ ।
नेवार संस्कृतिमा सबैभन्दा पुरानो नाटक हरिसिद्धि नाटक हो । यस नाटकलाई जल प्याखँ पनि भनिन्छ । जुन संगीतको तालमा प्रदर्शन गरिन्छ । विश्वको नाटक विधालाई अध्ययन गर्ने हो भने भाव नृत्यबाट विकास भएर नाटक परम्पराको थालनी भएको देखिन्छ तर हरिसिद्धि नाचमा पहिला नाटक अनि नृत्य र पछि नाटकको रूपमा विकसित भएको हो । पुराण अनुसार हरिसिद्धि प्याखँ वि.सं. ९४ भन्दा अगाडि फागुपुर्णिमाको दिन हरिसिद्धिमा नै मञ्चित गरिने नाटक हो । भनिन्छ यो नाटक उग्रतारादेवीले राजा विक्रमादित्यलाई आज्ञा भएबमोजिम तयार गरेको नाटक हो । सिद्धिनरसिंह मल्लले यो नाटकलाई जल (हरिसिद्धि) मा मात्र प्रदर्शन गर्ने गरेका थिए । पछि राजा योगनरेन्द्र मल्लले बाह्र वर्षमा एक पटक नेपाल मण्डलको सबै डबलीहरूमा यो नाटक प्रदर्शन गर्ने प्रचलन चलाएका थिए । त्यसपछि पाटनका गयो जुजुले यस नाटकको संस्कृत भाषामा पुनर्लेखन गरेको देखिन्छ भने ने.सं. ३७६ मा राजा जयदेवले मेनंटुन्थि नागपट्ट विधि–विधान सम्पन्न गरेका बखत यही प्याखँ प्रदर्शन गरेका थिए ।
ने.सं. ५३८ मा इबहील निर्माण गरिएको उपलक्ष्यमा रामभारोले लेखिएको “वीरबाहु” नाटक पूर्णरूपमा नेपालभाषामा लेखिएको नाटक हो । जुन ने.सं. ५४७ जेष्ठ शुक्ल एकादशीका दिन “वीरबाहु” नाटक प्रदर्शन गरिएको थियो । भक्तपुरको तलेजु भवानीको गजुर जीर्णोद्धार गर्दा भूपतीन्द्र मल्लले रचित “विक्रम चरित” नामक नाटक प्रदर्शन गरिएको थियो भने रणजीत मल्लको विवाहका उपलक्ष्यमा भूपतीन्द्र मल्लले रचित “उषाहरण” नामक नाटक पनि प्रदर्शन गरिएको थियो । भूपतीन्द्र मल्ल र रणजित मल्लको विवाहका धरःपौ अनुसार काठमाडौं र पाटनका राजदरबार र जनताका तर्पmबाट पनि भक्तपुरमा नाटक प्रदर्शन गरीएको थियो । भुपेन्द्र मल्लको विवाहको उपलक्ष्यमा आयोजना गरिएको नाटक प्रतियोगितामा काठमाडौंबाट प्रदर्शित नाटकलाई २० मोहर, नादलबाट प्रदर्शित नाटकलाई ९ मोहर, ठिमी, साँखु, जयबागेश्वरी, चाँगु आदि स्थानबाट प्रदर्शित नाटकलाई ६÷६ मोहर र पनौति, नाला, श्री खण्डपुरबाट प्रदर्शित नाटकलाई २÷२ मोहर पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
हालसम्म प्राप्त नाटकहरूको रेकर्ड अनुसार ने.सं. ७५१ मा “एकादशी व्रत कथा” बाट नेपालभाषामा नाटक टिपोट लेखन कार्य शुरू भएको देखिन्छ । यो नाटक ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालामा लेखिएको थियो । पछि नेपालभाषाका आधुनिक नाटककारका रूपमा भिक्षु सुदर्शन, सत्यमोहन जोशी, हेमलाल जोशी, जनकलाल वैद्य, बासुपासा, गिरिजाप्रसाद जोशी, देखापर्दछ भने नेपालभाषाका आधुनिक नाटककारमा ईश्वरानन्द श्रेष्ठाचार्य, बासुशशी, विजयबहादुर मल्लका नाटकहरूमा विषयवस्तु, पात्र चित्रण, वातावरण, दृश्य विधान, द्वन्द्व, शैली, वैचारिक पक्ष, जातीय समानता नवीन दृष्टिकोण, नारी स्वतन्त्रता र उपसंहार समेत गरी विस्तृत रूपमा “नेपालभाषाका पूर्णाङ्की नाटकको विवेचना “नामक पुस्तकमा ऐतिहासिक पक्षलाई समेत समेटिएर व्याख्या गर्नुभएको छ ।
बृहत् नेपाल इतिहास निर्माण योजना अन्तर्गत मल्लकालीन ऐतिहासिक अध्ययन र अनुसन्धान गर्ने क्रममा विभिन्न ऐतिहासिक सामग्रीहरू संकलन गरी सत्यतथ्यको आधारमा प्रमाणसहित निर्भीक रूपमा आफ्नो स्पष्ट धारणा राख्ने इतिहासकार तथा आमुख समालोचक प्रा.डा. चुन्दा बज्राचार्यले इतिहासको गर्भमा रहेको धरःपौलाई समेत प्रकाशित गरी मल्लकालीन इतिहासमा अध्ययन र अनुसन्धानकर्ताहरूलाई विशेष योगदान पु¥याउनु भएको छ ।
महिलामाथि भैरहेको विभेद र हिँसालाई अन्त्य गर्न योजनामूलक शिक्षा र सशक्तीकरणको आवश्यकता छ । तब मात्र महिलाले हरेक क्षेत्रमा समान सहभागिता जनाउन सकिन्छ भनी स्पष्ट बिचार राख्ने अग्रपन्थीका समाजिक अभियन्ता प्रा.डा. चुन्दा बज्राचार्यले नारी शिक्षालाई नै विशेष जोड दिनु भएको देखिन्छ । वैदिक युगमा नारी शिक्षित भएकोले पुरुषसरह नारीको पनि समान स्थान थिए । त्यसैले त्यस युगलाई स्वर्णयुग भनिन्थ्यो भनी ऐतिहासिक तथ्यलाई तार्किक रूपमा व्याख्या गरी आजको युगमा नारीमाथि भैरहेको व्यापक दमन र शोषणलाई सबै तह र तप्काबाट बिरोध मात्र नगरी समाधान गर्ने तर्पm अग्रसर हुनु आजको आवश्यकता छ भनी समाजमा जन–चेतना जागरण गर्ने कार्यमा हालसम्म पनि निरन्तर रूपमा लागिपरेकी छिन् ।
अन्तमा आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनविना देशको विकास असम्भव छ भन्ने कटुसत्यलाई आत्मसात् गरी आफ्नो सम्पूर्ण जीवन नै त्यसतर्पm समर्पण गरेकी भाषिक आन्दोलनका अग्रणी एवं नेपालभाषाका धरोहर प्रा.डा. चुन्दा बज्राचार्यको व्यक्तित्वलाई तराजुमा राखेर जोख्ने हो भने उहाँ एक असाधारण व्यक्तित्वको रूपमा लिन सकिन्छ ।
प्रकासित मिति २०८०–४–१७

फेसबुकबाट तपाईको प्रतिक्रिया