उपत्यकामा कहिले आउला मेलम्चीको पानी ?
रिसब गौतम
नेपाली इतिहासमै सर्वाधिक चर्चित एव बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माण प्रारम्भको २६ बर्ष पुरा हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । यसले काठमाण्डौ उपत्यकावासीलाई निराश मात्रै बनाएको छैन, नेपालको बिकासको गतिलाई लिएर अन्र्तराष्ट्रिय जगतमा नै देशलाई लज्जित बनाएको छ । ०५१ सालमै निर्वाचनको क्रममा काँग्रेस नेता स्वर्गिय कृष्णप्रसाद भटराइले काठमाण्डौका सडक मेलम्चीको पानीले पखालिदिने बाचा गरेका थिए । त्यसपछी लगानीकर्ताको खोजी गर्दै ०५२ सालमा मेलम्ची खानेपानी आयोजनाको स्थापना गरिएको थियो । यसरी पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्राइले नै यस आयोजना निर्माणको लागि प्रारम्भिक पहलकदमी उठाएका थिए ।
यद्यपी भटराइपछी पनि धेरै नेताले मेलम्चीको पानी काठमाण्डौमा ल्याइदिने भन्दै चुनाव जिते । तर ०५८ सालदेखि विधिवत निर्माणको काम थालिएको यस खानेपानी आयोजनामा हालसम्म २९ अर्ब खर्च भइसक्दा समेत पुरा भएको छैन । यस खानेपानी आयोजना निर्माणको लागि नेपाल सरकार र दातृ निकायहरु एडिबी, विश्व बैक, जेबिक (जापान), नोराड, सिडा, जापान सरकार,ओपेक, एनडिएफ लगायतबाट आर्थिक स्रोत जुटाइएको हो । झण्डै २० लाख उपत्यकाबासीलाई खानेपानी आपुर्ती गर्ने अनुमान गरिएको यस आयोजना खासगरी राजनीतिकरण, ढिलासुस्ती र कमिशनतन्त्रको चरम चपेटामा पर्यो । जसले गर्दा तिर्खाएका राजधानीबासीले पानीको प्यास मेट्न पाएका छैनन् ।
झण्डै ३ दशकबीच दर्जनौ मन्त्रीहरु फेरिए, कयौ नेताहरुले मलम्चीको पानी काठमाण्डौमा ल्याएर छेलोखेलो बनाउने सपना देखाएर चुनावहरु जते । कयौं बसन्तहरु आए र गए । तर मलम्ची आएन । खासगरी मेलम्ची खानेपानी आयोजजना कार्यगत ढिलासुस्ती, राजनीतिकरण, भष्टचार, अनियमितता, झन्झटिलो खरिद ऐन र कर्मचारीहरुको असहयोगकै कारण हालसम्म पुरा नभएको हो । हिजोआजका बर्षहरुमा बर्ष बर्ष दिनमै छिमेकी देशहरुले स्मार्ट शहरहरु बनाएर चमत्कार गरिरहेका छन् । विदेशीले बिकासका नबिनतम चमत्कारहरु गरिरहेका छन् । बिडम्बना हामिले हाम्रो आधारभुत आवश्यकताको एउटा बहुप्रतिक्षित आयोजना २६ बर्षमा समेत पुरा गर्न सकेका छैनौ । यो हदसम्मकै लज्जाको बिषय हो ।
हाम्रोमा जिन्दगीभर राजनीति गरेर जेलनेल झेलेर आएको मान्छे मन्त्री भयो भने पनि शक्तामा पुगेपछि उसमा शासकीय भुत सवार हुन्छ । चस्मा लगाएर हिँडेको छ भने उसले अगाडीका मान्छे नदेख्न पनि सक्छ । जनताले त्यो बखत नमस्कार गरेछ भने नमस्कार नर्फकन पनि सक्छ । किनकी उसमा शक्तिको, पदको उन्माद चढेको हुन्छ । आफनो जिम्मेवारी एकातिर छ, उसको प्राथमिकता अर्कोतरि छ । जनताको आवश्यकता, दुख र दर्ज बुझ्ने मन्त्री हुदैनन् । उनीहरु दिनहुँ दलाल, आसेपासे र नातेदारको स्वार्थ पुरा गर्न लाग्छन् । त्यसैले पनि यस्ता बहुआयामिक महत्वका आयोजना अलपत्र बनिरहेका छन् ।
यद्यपी यसपटक राजनीतिमा खारिएका, निष्ठावान मानिएका पुराना साँस्कृतिक नेता मणि थापा राजधानीबासीको आकाक्षां पुरा गर्नसक्ने मन्त्रालयको जिम्मेवारीमा आइपुगेका छन् । उनको लागि बडो अवसर छ काम गरेर देखाउने । किनभने समयकालले अहिले मेलम्ची पुरा गर्ने अन्तिम अन्तिम घडिमा थापालाई मन्त्री बनाएको छ । हेरौं, उनले त्यो जिम्मेवारी पुरा गर्छन् वा गर्दैनन् त्यो भविष्यको गर्भमा छ ।
काठमाण्डौ उपत्यकामा मेलम्ची यही दशैंमा आउँछ,अर्को दशैंसम्ममा आउँछ, दुई महिनापछी आउँछ, अर्को महिना त आउँछ नै र आइ नै सक्यो भनिरहँदा रहँदै अहिले त त्यस्ता प्रचारमा पनि जनताले विश्वास गर्न छाडिसके । त्यसकारण मेलम्ची आउन अझै दृष्ढ संकल्प र कडा प्रयत्न आवश्यक देखिन्छ । त्यसैले पनि नवनियुक्त मन्त्रीज्युलाई यस स्तम्भकारको केही सुझाव छन् ।
खासगरी उनले आफनो टीमलाई अलिक शसक्त बनाउन जरुरी छ । सक्षम मान्छेहरु सल्लाकार कमिटिमा राखेर वीज्ञ, ठेकेदार, कर्मचारी र स्थानिय जनताको समेत राय सुनेर पहिला त आयोजना सम्पन्न हुन नसक्नुको कारण पहिल्याउन जरुरी छ । यस्ता काम नदीको गडगडाहट झै बेगले गर्न जरुरी छ । जहाँ समस्या छन् । त्यसलाई फुकाएर, कर्मचारीमा उत्प्रेरणा भर्दै उर्जावान ढंगले त्यसको अनुगमन तथा कार्यसम्पादनमा ध्यान दिन जरुरी छ । खासगरी बिकास भनेको गाह«ो पनि छ र सजिलो पनि । त्यो आफुमा निर्भर रहने कुरा हो । पुरा गर्न चाहने उत्कट आंकाक्षाको कुरा हो । हिजो कयौं कर्मचारीले गर्न नसकेको काम निष्ठापूर्वक, उर्जावान ढंगले, विवेकपुर्ण ढंगले गर्दा कुलमानले नेपाललाई लोडसेडिङबाट मुक्त गराए । त्यही शैली मन्त्री थापा र उनको मन्त्रालयले अबलम्बन गर्न जरुरी देखिन्छ । अनिमात्रै मेलम्ची काठमाण्डौ उपत्यकामा आउन सक्छ ।
एउटा आयोजनालाई घुमाउने, लेङग्याउने हो भने जतिपनिगर्न सकिएला । बिग्रार्ने वा भुलभुल्याउने काम धेरै असजिलो पनि छैन । तर बनाउने काम भने जटिल हो । त्यहाँ कर्मचारीको स्वार्थको कुरा रहलान्, स्थानियको रहलान् ठेकदारको रहलान् मन्त्रीकै पनि रहलान् । हिजोका दिनमा यस आयोजनालाई लिएर बाहिर आएका समाचारले त्यही दृष्ठान्तलाई दर्शाएको पनि छ । तर केन्द्रमा रहने मन्त्रीले नै विना स्वार्थ काम गरेको खण्डमा अरु सबै स्वार्थ समुहलाई नियन्त्रण गर्दै काम गर्न सकिन्छ । जो कुलमानले उदाहरण दिएका छन् । विकासलाई दुष्टहरुबाट जोगाउँदै संयमित र व्यवस्थित ढंगले मिलाएर लान सक्दा यस आयोजना पुरा गर्न अव कठिन नभएको बुझिन्छ । २७ किमि ब्यवस्थित सुरुङमार्ग बनिसकेको छ । पानीको भण्डारणको लागि सुन्दरीजलमा व्यवस्थीत टयाङकी बनिसकेको छ । राजधानीमै व्यवस्थीत पाइपलाईन तथा आवश्यक भण्डारण स्थलहरु बनिसकेका छन् । त्यसकारण यस आयोजनाका लगभग सबैजसो पुर्वाधारहरु बनिसकेका छन् । मात्रै केही आन्तरिक प्राविधिक काम र त्यसको ट्रायल गर्न बाँकी छन् । ती काम गर्न पनि महिनौ वा बर्षौ लाग्न सक्छन् यदि मन्त्रीले तदारुकता नदेखाउने हो भने । त्यसकारण भए गरेका थोरबहुत जटिलतालाई सुल्झाउँदै अविलम्ब मेलम्चीको पानी काठमाण्डौमा ओराल्न आवश्यक छ ।
मेलम्ची नआएकै कारण काठमाण्डौबासीहरु ट्याङकरको पानीमा निर्भर छन् । त्यस्तो पानीको गुणस्तर समेत मापन हुने गरेको छैन । फलस्वरुप पानीजन्य रोगले धेरैलाई सताउने, मेडिकल खर्च बढ्ने, स्वास्थ्य बिग्रने समस्या जडित छन् । अर्कोतिर टयाङकर मार्फत अन्यन्त्रबाट काठमाण्डौमा पानी ओर्सादा इन्धनको व्यापक खपत भइ इन्धन आयात मार्फत व्यापार घाटा बढाएको छ । राजधानीमा त्यसले सडक जामको अवस्था सिर्जना गर्नुका साथै अरु अनेकन समस्याहरु बढाएको छ । ट्याङकरमा पानी ओर्सानेहरुले रोजगारी पाएका त हुन् । तर देशको लागि त्यो उत्पादनमुलक एवं अर्थपूर्ण भएन । बरु त्यसरी रोजगार भएकाहरुलाई अन्यन्त्र स्थापित गर्न सकिएला । ठाउँहरु धेरै छन् । मुल कुरा सफा पानी सहज रुपमा, व्यवस्थीत रुपमा शहरबासीलाई पुर्याउने कुरा हो । त्यो नैखास अर्थको विकास र सम्बृद्धिको कदम हो ।
गत असार ३० गते मेलम्चीको पानी परिक्षणको क्रममा सुरुङको ढोका भत्किएर पानी बाहिर आएसँगै मलम्ची काठमाण्डौ आउनेमा झन् शंसय उत्पन्न भएको छ । जनता झन् बढी निराश भएका छन् । अर्कोतिर आयोजना निर्माणको गुणस्तरमा नै प्रश्न उब्जिएको छ । अख्तियारले ढोका भत्किएर पानि आएको घट्नापछी आवश्यक काजजात झिकाएर छानबिन नै सुरु गरेपछि मेलम्चीको गुणस्तरमा झन आशंका उब्जिएको छ । त्यसकारण ३ दशकदेखिको यस आयोजना धेरै धोखाधडी र भटाचारको गोलचक्करमा जकडिएको छ । सबै खालका समस्याबाट मेलम्चीलाई अलग्याउँदै आयोजनाको बाकीँ काम पुरा गर्नुपर्ने जिम्मेवारी नवनियुक्त मन्त्रीज्युको काँधमा आइपुगेको छ ।
प्रकासित मिति २०७७–०९–२०
फेसबुकबाट तपाईको प्रतिक्रिया