उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै

चितवन २५ असार २०८१

चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनःनिर्माण गर्न अािर्थक वर्ष २०८१÷८२ मा रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघर पुनःनिर्माण गर्दैछौँ, जसका लागि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।”

उहाँका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्न आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आइ लभ गढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

यसैबीच गाउँपालिकाले उपर्दाङ्गगढीको तोप खोजी गरिरहेको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको तोप कहाँ छ, त्यसबारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।”ADVERTISEMENT

सन् १९६० सम्म उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।

यसैबीच गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले उपर्दाङ्गगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्नेगरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो ।

उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व झल्किनगरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष गुरुङले बताउनुभयो । सिराइचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाको विकास र विस्तारलाई जोड दिइने उहाँले बताउनुभयो । लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीयस्थलको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङ बताउनुभयो ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया