एक अर्ब ४६ करोड नाफा कमाएको एनआइसी एसिया बैकको आगामी योजना यस्ता छन्

देबी चौलागाँई

बिजनेसपाटी ५ श्रावण
गत आर्थिक बर्षमा एनआइसी एसिया बैंकले एक अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा एक अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा हालै सकिएको आर्थिक बर्षमा भने बैकले ४० करोड नाफा बढाएको हो ।
बैंकको गत आर्थिक बर्षमा ८५ अर्ब २८ करोड रुपैयाँ स्वदेशी निक्षेप रहेको छ भने ७१ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । गत आर्थिक बर्षमा बैंकले खुद व्याज आम्दानी २ अर्ब ५३ करोड रुपैयाँ गरेको छ ।
१९ बर्ष पुरा गरि २० औ बर्ष प्रवेश गरेको अवसरमा बैकले राजधानीमा बुधवार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।
बैकले एक बर्षमा ५ अर्ब ७७ करोड रुपैयाँ चुक्क्ता पूँजीलाई ६ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ । राष्ट बैकले तोके बमोजिमको ८ अर्बलाई नपुग पूँजी बोनस सेयर वितरण गरेर पुर्याउने बैकले जनाएको छ । बैकको जगेडा कोषमा एक बर्षमा एक अर्ब ६० करोड रुपैयाँबाट बढेर तीन अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको पूँजी कोष अनुपात गत आर्थिक बर्षमा १३.९५ प्रतिशत रहेको छ। बैंकको गत आर्थिक बर्षमा खराब कर्जा अनुपात एक बर्षमा ०.७६ प्रतिशतबाट घटेर ०.३६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ, निष्कृय कर्जा अनुपात ०.३६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६.३४ प्रतिशत, प्रति सेयर नेटवर्थ १५२ रुपैयाँ १५ पैसा, तरलता अनुपात २५.७९ प्रतिशत र पूँजीकोष अनुपात १३.९५ प्रतिशत रहेको छ । १९ बर्ष पार गरेको बैकको स्थापनाकालदेखि अहिलेसम्मको प्रगति विवरण, बैकको आगामीे रणनीतिबारे जानकारी गराउदै सीईओ लक्ष्मण रिसालले बैंकको खराव कर्जा घटेको, सम्पत्तिको गुणस्तर धेरै राम्रो भएकोले बैंकले ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको बताए । १९ बर्षको दौरानमा राज्यलाई ५ अर्ब भन्दा बढी कर भुक्तानी गरेको बैकले बिपन्न बर्गमा लक्षित कर्जा अनुरुप अहिलेसम्म १ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएकोे छ । १९ बर्षको अवधिमा बैंकले सेयरधनीहरुलाई ५ अर्ब ६० करोड भन्दा बढी लाभांश प्रदान गरेको छ ।

बैंकले हाल देशभरमा कुल ११९ शाखा, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउण्टरहरु मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकसँग हाल १ लाख ३० हजार मोबाइल बैंकिङ प्रयोगकर्ता, १ लाख २० हजार एटिएम प्रयोगकर्ता र २७ हजार इन्टरनेट बैंकिङका प्रयोगकर्ता रहेका छन् ।

आक्रमक बजार विस्तारको नीति लिएको बैंकले चालु आर्थिक बर्षमा मात्रै थप ८१ वटा शाखा थप्ने योजना रहेको जनाएको छ । चालु आर्थिक बर्ष भित्र बैकले शाखा संख्या २०० भन्दा बढी, एटिएम संख्या ४ सय भन्दा बढी, तत्काल शाखा पुर्याउन असम्भव स्थानमा दुई सय भन्दा बढी शाखा रहित बैंकिङ, २ हजार भन्दा बढी पीओएस र हाल कायम ४ हजार ५ सय रेमिट्यान्स पेआउट एजेन्ट संख्यालाई १० हजार पुर्याउने योजना रहेको छ । २०औं बर्षमा प्रवेश गरेको अवसरमा बैंकले निक्षेप तथा कर्जातर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी रहेको जनाएको छ ।
संंस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वातावरण, शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता र खेलकुद लगायत क्षेत्रमा सहयोग बढाउँदे लैजानेमा बैंक प्रतिबद्ध रहेको बताइएको छ । गत बर्ष देशभरका शाखाहरु मार्फत विभिन्न स्थानहरुमा ७ हजार भन्दा बढी बिरुवा वृक्षारोपण गरेको बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया