एक वर्षमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याइने

काठमाडौं, चैत ८, २०८१ । वर्तमान सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यसहित काम थालेको छ । आज राष्ट्रिय सभामा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले सरकारको लक्ष्यबारे जानकारी गराएका हुन् ।

अहिलेसम्म देशका १९ प्रतिशत नागरिकसम्म मात्र गुणस्तरीय पानीको पहुँच पुगेको छ अब तपाईका सुधारका योजना के कस्ता छन् भन्दै मन्त्री यादवलाई सांसद भुवनबहादुर सुनारले प्रश्न सोधेका थिए । त्यस्तै शतप्रतिशत नेपाली नागरिकलाई शुद्ध र गुणस्तरीय खानेपानी कहिलेसम्म उपलब्ध गराउन सकिन्छ भन्दै अर्को प्रश्न थपेका थिए ।

त्यसको जवाफमा मन्त्री यादवले हालसम्म २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुगेको तथ्याङ्क बताउँदै अगामी दिनमा यसलाई बढाएर रफ्तारमा काम गर्ने सरकारको योजना रहेको बताए ।

अबको ‘एक वर्ष भित्रमा ५७ प्रतिशतमा स्वच्छ पानी पुर्‍याउनका निमित्त कार्ययोजना बनाएर अगाडि बढेका छौं’ उनले भने । यो लक्ष्य जटिल रहे पनि काम अगाडि बढिसकेकालग यसमा गम्भीर भएर लाग्ने उनले बताए ।

नेपालको संविधानको धारा ३० को उपधारा (१) ले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने र धारा ३५ को उपधारा (४) ले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया