ओलीका प्रश्न, प्रचण्डको यस्तो जवाफ

काठमाडौँ २० श्रावण 

ओलीको प्रश्न १ :  हामीले प्रस्ताव गरेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नुहुन्छ ? त्यसको भविष्य के हुन्छ ?

प्रचण्ड : लक्ष्यदार भाषणले मान्छेलाई भ्रम दिन सकिएला । तर, तथ्यलाई ढाँट्न सकिँदैन । तपाईंको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गरेको बजेटको स्थिति तपाईंलाई थाहा छ ? ६ खर्ब १७ अर्ब साधारण खर्च छुट्याएको बजेटले राजस्व संकलन पाँच खर्ब ६५ अर्ब उठाउने लक्ष्य लिएको छ । आफ्ना कर्मचारीलाई तलब दिन, अड्डा–अदालत चलाउन र भत्ता बाँड्न मात्रै पनि ५२ अर्ब ऋण लिनुपर्ने अवस्था छ । यो होइन तपाईंको बजेटको वास्तविकता ? अनि यो वास्तविकतालाई ओझेलमा पारेर ग्यासका पाइपलाइन जोड्ने र पानीजहाज ल्याउने सपना बाँड्न सकिएला, तर बजेट छुट्याउन सकिँदैन, तपाईंले छुट्याउनुभएको छैन । तैपनि केरुङ–काठमाडौं रेलमार्ग कुन पैसाले बन्छ भनेर हामीले सोच्नैपर्नेछ । किनकि, चिनियाँ रेल ल्याउने परिकल्पना गर्ने पहिलो व्यक्ति तपाईं होइन म हो । मेरो दायित्व छ, ऋण लिएर भए पनि यसलाई ठोस रूपमा अघि बढाउने हो । बिल्कुल चिन्ता नमान्नुहोस्, राष्ट्रको हितमा हुने कुनै काममा हामी पछि पर्ने छैनौँ ।

ओलीको प्रश्न २ : काठमाडौं–निजगढ फास्ट ट्र्याक र हुलाकी राजमार्गलगायतका विकास आयोजनाको भविष्य के हुन्छ ? तपाईंहरू के गर्नुहुन्छ ?

प्रचण्ड :  फास्ट ट्र्याक, हुलाकी राजमार्ग, चीन, भारतसँगको सन्धि–सम्झौताजस्ता विषयमा प्रधानमन्त्रीजीले तीखो शैलीमा प्रश्न तेस्र्याउनुभएको छ । पहिलो कुरा फास्ट ट्र्याक र हुलाकी राजमार्गजस्ता विकास परियोजना प्रधानमन्त्री ओलीजीले आफैं परिकल्पना गरेजस्तो दाबी गर्नुभएको छ । तर, इतिहासलाई नढाँटौँ, यी परियोजनाको तयारी वर्षौंअघि भएको हो । दोस्रो कुरा, यी परियोजनामा तपाईं नेतृत्वको सरकारको पाला केही अघि बढेको छ भने नबिर्सिनुस् त्यो सरकारमा हामी पनि थियौँ । त्यो निर्णयमा हाम्रो पनि स्वामित्व छ । तर, अहिले तिमीहरू के गर्छौ भनेर एक्लै जस लिन खोज्नुहुन्छ भने राजनीतिक बेइमानी हो । यी परियोजनाको तयारी तपाईंको सरकारभन्दा अघि सुरु भएको हो र तपाईंभन्दा पछिको सरकारले पनि अघि बढाउनेछ । बरु हुलाकी राजमार्ग र फास्ट ट्र्याकका लागि कति पैसा छुट्याउनुभएको छ त्यो हामीलाई थाहा छ । तैपनि साथ दिनुस् प्रधानमन्त्रीज्यू, फास्ट ट्र्याक म अघि बढाउँछु ।

ओलीको प्रश्न ३ : तराईमा ओझेलमा परेको विकासलाई उजागर गर्दै समृद्ध तराई निर्माण गर्न सिँचाइ, सदरमुकाममा सहरहरूको पूर्वाधार विकास, कृषि विकास, भैरहवा र निजगढ विमानस्थलजस्ता पर्याप्त बजेट छुट्याइएको महत्वपूर्ण योजनालाई के गर्नुहुन्छ ?

प्रचण्ड : तराईका जिल्ला सदरमुकाममा छुट्याइएको बजेटका योजनाहरूलाई कार्यान्वयन गर्ने काम गरिन्छ । जहाँ बजेट छुट्याइएको छ, त्यहाँका योजना हुबहु कार्यान्वयन हुन्छ । तर, जहाँ बजेट छुट्याइएको छैन, त्यहाँ पनि काम हुनेछ । तर, तपाईं जिम्मा लिएरै प्रश्न गर्नुहुन्छ भने कुनकुन परियोजनामा पैसा छुट्याउनुभएको छ त्यो पनि भनिदिनुहोला । स्रोत देखाइदिनुहोस्, म तपाईंले देखाएको स्रोत परिचालन गरेर विकास निर्माणका काम गर्नेछु । मित्रराष्ट्रले सहयोग गरे पनि, अन्तर्राष्ट्रिय समुदायले सहयोग गरे पनि वा आन्तरिक स्रोतले भए पनि सोझो र सरल भाषामा मलाई स्रोत देखाइदिनुहोस्, म त्यसरी नै गर्छु । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया